आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा उपमेयरसँग महिला कार्यक्रम

    प्रकाशित २०८० चैत्र ५, सोमबार (७ महिना अघि)


ज्ञानु पंगेनी, देवचुली। नवलपरासी पूर्वको देवचुली नगरपालिकामा उपमेयरसँग महिला कार्यक्रम सञ्चालन गरिएको छ । महिलाहरूको सशक्तीकरण गर्दै नेतृत्वतहमा महिला सहभागिता अभिवृद्धि गर्ने र महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रम अन्तरगत महिलाहरूलाई क्षमता विकासको कार्यक्रम सुरुआत गरिएको छ ।

आज साविक देवचुली गाविसलाई समेट्ने गरेर महिलाहरूको लागि तीन दिने महिला सशक्तीकरण (क्षमता विकास ) कार्यक्रम सुरु भएको छ । देवचुली ८ मा आयोजना गरिएको तालिमको उपप्रमुख पार्वता तिवारीले उद्घाटन गर्नुभयो । उहाँले महिलाहरूको व्यक्तित्व र क्षमता विकास पहिलो प्राथमिकतामा राखेर पालिकाबाट बजेट बिनियोजन गरिएको बताउनुभयो । विभिन्न सङ्घसंस्थामा नेतृत्व गर्न सक्ने क्षमता विकास गर्नका लागि यस कार्यक्रमले टेवा पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘यस कार्यक्रममा जोडिएका तपाईं सबै महिलाहरूले यहाँको वन , खानेपानी , विद्यालय , सहकारी लगायतका संस्था र अब आँउदो निर्वाचनमा पालिकामा समेत नेतृत्व गर्न सक्ने भएर निस्कनुपर्छ ।’ उहाँले थप्नुभयो – ‘समाजमा अझै पनि महिलाहरूले केही गर्न सक्दैनन् भन्ने सोच कायमै छ , यस्ता सोचलाई चिर्नका लागि महिलाहरू आफैँले हिम्मत र आँट गर्न सक्नुपर्छ , महिलाका धेरै घरायसी काम र परिबन्ध हुन्छन् ,। तर त्यसलाई पनि व्यवस्थापन गर्दै समुदायमा आफू स्थापित हुनका लागि आफैमा आत्मविश्वास लिएर अग्रसर हुन जरुरी छ । ’

उहाँले उपमेयरसँग महिला कार्यक्रममा महिलालाई आयआर्जनमा जोड्ने काम समेत गरिएको बताउनुभयो । विभिन्न सीप मूलक तालिम प्रदान गर्दै महिलालाई आत्मनिर्भर बनाउन यस कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रममा सहभागि भएका महिलाहरूलाई स्वरोजगार बन्न विभिन्न सामाग्री सहयोग गर्ने समेत उहाँले बताउनुभयो ।चालु आर्थिक वर्षमा नगर सभाबाट उपमेयरसँग महिला कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै सात नम्बर वडाका अध्यक्ष भुमीसरा आलेले महिला भएकै कारण महिलाको कार्यक्रमलाई प्राथमिकतामा राखेर यो कार्यक्रम ल्याउन सफल भएकोमा उपमेयर तिवारीलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रम ल्याएर मात्रै यस कार्यक्रमले सफलता नपाउने भन्दै आलेले तालिममा सहभागि भएपछि कुनै न कुनै सङ्घसंस्थाहरूको नेतृत्व लिन अग्रसर हुन सहभागि महिलाहरूलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै आठ नम्बर वडाका अध्यक्ष नुन प्रसाद वाचे मगरले तालिममा सहभागि भएका महिलाहरूलाई ध्यानपूर्वक सुनेर ,बुझेर सफल बनाउन अनुरोध गर्नुभयो । सिकेका कुरालाई आफ्नो गाउँघर र समुदायमा लागू गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नौ नम्बर वडाका अध्यक्ष बलिराम सापकोटाले यस्ता किसिमका तालिम र कार्यक्रमबाट नै पछिल्लो समय महिलाहरू सक्षम हुन थालेको बताउनुभयो । स्थानीय सरकार भएपछि वडाहरुबाट समेत महिला सशक्तीकरण कार्यक्रमहरू सञ्चालन गर्नेक्रम बढेकोले गर्दा महिलाहरूले विभिन्न कार्यक्रम र प्रतियोगिताहरूमा समेत सहभागि भएर आफ्ना कुराहरू राख्न सक्ने भएको बताउनुभयो ।

आजबाट सुरु भएको तालिममा देवचुली ७ , ८ र ९ नम्बर वडाका ४० जना महिलाहरू सहभागि भएका छन् । तालिममा ग्रीन फाउण्डेशन नेपाल नवलपुरले समन्वय गरेको छ । अध्यक्ष ठाकुर प्रसाद पाण्डेले तालिममा सहजीकरण गर्नुहुने छ ।

ग्रीन फाउण्डेशनका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमलप्रसाद बाचे मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने ग्रीन फाउण्डेशनका सचिव दुर्गादेवी विष्टले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment