देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय फुटबल प्रतियोगितामा शुक्रबार भएका सेमिफाइनल खेलमा देवचुली ११ र देवचुली १६ विजयी हुँदै फाइनल प्रवेश गरेका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ को सह आयोजनामा सेन्टर प्लट खेल मैदानमा संचालित प्रतियोगिताको शुक्रबारको पहिलो सेमिफाइनल खेलमा देवचुली १६ ले देवचुली १५ लाई हराउँदै फाइनल प्रवेश गरेको हो। देवचुली १६ ले देवचुली १५ लाई ४-० गोल अन्तरले हराउँदै विजयी भएको हो। खेलमा देवचुली १६ का दिवस श्रेष्ठले २ गोल, समीर श्रेष्ठ र कुनाबहादुर मल्लले १/१ गोल गरेका थिए।
त्यसै गरि शुक्रबार भएको देवचुली १ का विरुद्ध देवचुली ११ बीचको दोस्रो सेमिफाइनल खेलमा देवचुली ११ विजयी भएको छ । देवचुली ११ ले देवचुली १ लाई हराउँदै फाइनल प्रवेश गरेको हो । देवचुली ११ ले देवचुली १ लाई २-० गोल अन्तरले हराउँदै विजयी भएको हो। खेलमा देवचुली ११ का सन्दिप राना र विशाल सारुले १/१ गोल गरेका थिए ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा देवचुली १५ का सामेल थापा म्यान अफ दि म्याच भएका थिए भने दोस्रो सेमिफाइनल खेलमा देवचुली ११ का विशाल सारु म्यान अफ दि म्याच भएका थिए।
देवचुली नगरपालिका भित्रका १६ वडाका १७ टिमबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा प्रथम हुने वडाले नगद ४० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ का अध्यक्ष सुरज सोतीले बताए।प्रतियोगिता अन्तर्गत शनिबार देवचुली ११ का विरुद्ध देवचुली १६ बिच फाइनल खेल हुने आयोजकले जनाएको छ।