आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

    प्रकाशित २०८० पौष २६, बिहिबार (१० महिना अघि)


देवचुली।देवचुली नगरपालिकाको हिउँदे अधिवेशन चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधन सहित सम्पन्न भएको छ । नगर सभाले नगरपालिकाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८० को केही अनुसूचीहरु संशोधनको प्रस्ताव बहुमतले पारित गरेको छ ।

बुधबार नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि नगर सभा सदस्यहरुले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तावको पक्ष र विपक्षमा मत राख्न गरेको आह्वानमा बहुमत नगरसभा सदस्यले हुन्छ भन्ने मत राखेसँगै प्रस्तावहरु बहुमतले पारित भएको नगरप्रमुख न्यौपानेले सभामा जानकारी गराए ।

नगरसभामा विधायन समितिका संयोजक एकदेव पौडेलले स्थानीय ऐनको संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसैगरि नगर उपप्रमुख पार्वता तिवारीले सभामा चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उनले चालु आर्थिक वर्षको पहिलो ५ महिना मंसिर मसान्तसम्मको वित्तिय प्रगति समीक्षा समेत प्रस्तुत गरेकी थिइन् ।उपप्रमुख तिवारीले चालु आर्थिक वर्षको हालसम्म २२.६३ प्रतिशत वित्तिय प्रगती हासिल भएको बताइन् । जसमा चालु खर्च २५.७९ प्रतिशत र पुँजीगत १५.३१ प्रतिशत वित्तिय प्रगति भएको उल्लेख गरिन्। पालिकाको विषयगत क्षेत्रतर्फ कार्यलय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ ३८.१२ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६.९८ प्रतिशत, पूर्वाधार विकास क्षेत्रतर्फ २०.०१ प्रतिशत, सामाजिक विकास क्षेत्रतर्फ २३.८४ प्रतिशत र आर्थिक विकास क्षेत्रतर्फ ९.०४ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।नगरसभाले २ करोड भन्दा बढीको योजना कटौती गरेको छ।उप प्रमुख तिवारीद्वारा प्रस्तुत संशोधन प्रस्तावबाट उक्त योजना कटौती गरिएको हो।

नगर सभाको छ्लफलमा नगर सभा सदस्यहरुले संशोधित बजेट, विधेयकमाथि जिज्ञासा राखेका थिए । उठेका सवालहरु माथि देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, नगर उपप्रमुख पार्वता तिवारीले प्रष्ट पारेका थिए ।सभाका संचालन प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले गरेका थिए।

नगरसभामा देवचुली नगरपालिकाका संस्थापक नगर प्रमुख पुर्णकुमार श्रेष्ठ र देवचुली नगर अस्पतालका लागि जग्गादाता विष्णुदेवी कोइरालालाई सम्मान गरिएको थियो।

Write your Comment