आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

विश्वमै अति दुर्लभ बैकाल गैरी चरा नवलपुरमा भेटियो

    प्रकाशित २०८० पौष २४, मंगलबार (१० महिना अघि)


नवलपुर। जाडो छल्न विभिन्न देशका चरा यतिबेला पूर्वी नवलपरासीको नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् ।कावासोती–१३ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रको नारायणी नदीमा नेपालकै अति दुर्लभ फिरन्ते (वैकाल्टिल) चराहरू जाडो छल्न र आहारका लागि आएको जलपन्क्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताउनुभयो ।

वैकाल्टिल चरा काठमाडौँ, पोखरा, चितवनमा धेरै पहिले आएको अभिलेख भएपनि नेपालकै दुर्लभ चरा नवलपुरमा भने पहिलो पटक आएको हो । जाडो महिनामा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नवलपुरको नारायणी नदीमा आएको संयोजक चौधरीको भनाई छ । नारायणी नदिमा आइतबार मात्र आएका यी चरा केही दिन नारायणी नदीमा नै रहने संयोजक चौधरीले बताउनुभयो ।

नारायणी नदीमा विशेषगरी पानीमा रहने चराहरू यहाँ बसाइसराइ गरी आउने गरेका छन् । साइबेरिया, चीन, बर्मा, मङ्गोलिया, रुस, कोरिया, थाइल्यान्ड लगायतका देशहरूबाट आगन्तुक चराहरू यतिबेला यस क्षेत्रमा आउने गरेको उहाँले बताउनुभयो ।

यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा, जलेवा लगायत विभिन्न प्रजातिका चरा रहेका छन् । आन्तरिक रूपमा समेत देशका विभिन्न स्थानबाट बसाइसराइ गरी चराहरू यस क्षेत्रमा आउने क्रममा यो पनि आएको नेचर गाइड मानबहादुर चौधरीले बताउनुभयो । विभिन्न प्रजातिका अन्य चरा आइरहने हुँदा फरक खालको लागेपछि यस चराको बारेमा बुझिएको उहाँले बताउनुभयो ।

सेप्टेम्बर महिनादेखि डिसेम्बरसम्म चराहरू आउने र फेब्रुअरीदेखि गर्मी बढ्न थालेपछि आफ्नो पुरानो वासस्थानमा फर्किन सुरु गर्ने पनि उहाँले बताउनुभयो । अप्रिलसम्ममा जाडोमा आएका सबै चरा पुन जहाँबाट आएको हो त्यही देश फर्किने उहाँले बताउनुभयो । नारायणी नदी, नवलपुर सहित चितवन राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा अहिले आगन्तुक चराहरू सहजै देख्न सकिने नेचर गाइड चौधरीले बताउनुभयो ।

जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरूको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणनाको कार्यक्रम समेत गर्ने गरिएको छ । नारायणी नदी र आसपासका क्षेत्रमा जलपन्क्षी गणनाको कार्यक्रम अबको केही दिन पछि गरिने संयोजक चौधरीले बताउनुभयो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

फाेटाेः मान चाैधरी

Write your Comment