आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

घरविहिन परियारलाई युवा संघद्वारा घर निर्माण शुरु

    प्रकाशित २०८० पौष २३, सोमबार (१० महिना अघि)


चोरमारा । गत जेठ महिना देखि घर विहिन बनेको मध्यविन्दु नगरपालिका–८ की सितापरियारको परिवारका लागि राष्ट्रिय युवा संघ नेपाल, नवलपुरले घर निर्माण शुरु गरेको छ । गत जेठमा आएको हावाहुरीले परियारको घर उढाएको थियो । घर पूर्ण रुपमा क्षतिग्रस्त बनेपछि उहाँको परिवार अहिले छिमेकीकोमा बस्दै आएको छ । परियारको घर निर्माणको लागि पिल्लर र टिन लगाउने काम सकिएको छ । सोमबार उक्त घर निर्माणको एमाले केन्द्रीय सदस्य तिलक महत, जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, युवा संघ स्थायी कमिटी सदस्यहरु मदन गिरी र दिपक शर्मा लगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

घर निर्माणको शिलान्यास गर्दै प्रमुख अतिथि तिलक महतले विपन्न परिवारका लागि युवा संघले गरेको काम उदारणीय भएको बताउनुभयो । नेकपा एमाले र एमालेका जनवर्गिय संगठनहरु सदैव नागरिक प्रति उत्तरदायी रहेको उहाँले बताउनुभयो । नेकपा एमाले सरकारमा रहदा जनता आवास कार्यक्रम मार्फत धेरै घरहरु निर्माण भएको स्मरण गर्दै एमाले विपत्तिको समयमा उद्धार र विपन्न परिवार कहाँ सहयोग लिएर उपस्थित हुने गरेको बताउनुभयो । हाल नवलपुरमा संघीय संसद् एमालेको नहुदाँ जनताहरुमा केही निराशा पैदा भएको भन्दै उहाँले प्रदेशमा प्रतिनिधित्व गर्ने माननिय र स्थानीय सरकार मध्यविन्दु नगरपालिकामा एमाले नेतृत्व भएकाले तहाँबाट समेत जनहितकारी कार्यक्रमहरु लागु गरिने उल्लेख गर्नुृभयो ।

एमाले जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेले सरिता परियारको घर निर्माणमा युवा संघले देखाएको सक्रियताले जनताको घरसम्म पुग्ने र दुःख बुझ्ने पार्टी एमाले रहेको कुरालाई पुनः सिद्ध गरेको बताउनुभयो । उहाँले एमालेका हरेक जनवर्गिय संगठनहरु आफ्नो वर्गिय पक्षधरता र सम्बन्धी फाटमा क्रियाशिल रहेको बताउनुभयो । युवाहरुको लागि युवा संघ, महिलाहरुको लागि अनेमा संघ, विद्यार्थीहरुको लागि अनेरास्ववीयु, कृषकहरुको लागि किसान महासंघ, मजदुरहरुको लागि मुजदुर संगठन सहित सबै जनवर्गिय संगठनहरुले काम गरिरहेको बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश सह इञ्चार्ज मदन गिरीले विपद् र विभेदमा परेका हरेक नागरिकहरुको अधिकार प्राप्तीका लागि युवा संघ सदैव अग्रसर रहने बताउनुभयो । विगतमा कावासोतीमा विपन्न परिवारका लागि घर निर्माण गरेको युवा संघले अहिले मध्यविन्दु नगरपालिकामा सितापरियारको लागि घर निर्माण गरिरहेको उल्लेख गर्दै आगामी दिन रचनात्मक कामहरुबाट जनतासम्म पुग्ने काम हुने बताउनुभयो । २०७२ सालको भुकम्प होस् वा हालै जाजरकोट र रुकुमको भूकम्प पीडितहरुको राहत, उद्धार र पुर्ननिर्माणमा एमाले जनता सम्म र बास्तविक पीडित सम्म पुगेको उहाँले बताउनुभयो । जनतामा आशा जगाउन नसकेको वर्तमान सरकारको कारण सरकार विहिनता जस्तै बनेको हालको अवस्थामा एमाले सदैव जनता संगै रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल नवलपुर जिल्ला इञ्चार्ज दिपक शर्माले विभिन्न माध्यामबाट युवा संघमा आवद्ध व्यक्तिहरुबाट प्राप्त सहयोगले सितापरियारको घर निर्माणको काम शुरु भएको बताउनुभयो । गत जेठमा घर भत्किएपछि घर बिहिन बनेको उहाँको परिवारका लागि यस अगाडी युवा संघले गरेको प्रतिबद्धता अनुसारको घर निर्माण शुरु भएको बताउनुभयो । वैदेशिक रोजगारीको शिलशिलामा श्रीमान भारत हुदा सिता परियारले घर परिवार सञ्चालनको लागि गर्नु परेको संघर्ष र उहाँको कमजोर आर्थिक अवस्थालाई बुझेर नै उहाँको घर निर्माण शुरु गरिएको शर्माले बताउनुभयो ।

 

मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले परियारको घर निर्माणको लागि नगरपालिकाको तर्फबाट आवश्यक नियमानुसारको सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल, नवलपुरका जिल्ला अध्यक्ष कृष्ण कण्डेले कुनै गैर सरकारी निकायबाट नभई युवा साथिहरुबाट प्राप्त सहयोगले घर निर्माणको अभियान सञ्चालन गरेको बताउनुभयो ।
घर निर्माणमा युवा संघले गरेको सहयोगबाट भावुक बन्नु भएकी परियारले युवा संघले आफ्नो लागि लगायएको गुन कहिल्यै नबिर्सने बताउनुभयो । उहाँले घर नहुदाँ आफुले भोग्नु परेको दुख सुनाउदै चाडै आफ्नै घरमा सर्न पाउने आशा व्यक्त गर्नुभयो । परियारको परिवारमा उहाँ, श्रीमान, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

घर शिलान्यास कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेताहरु सहित जनवर्गिय संगठनका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Write your Comment