देवचुली।महाराजा सामुदायिक वन उपभोक्ता समुहको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०५३ सालमा स्थापना भई २०५७ सालमा दर्ता भएको वन २०७१ सालमा हस्तान्तरण भएपश्चात वन समुहले नवौं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको हो।
महाराजा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गनबहादुर रानाको अध्यक्षतामा भएको साधारण सभामा देवचुली १५ का वडा अध्यक्ष सुरेशकुमार रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो।
सभामाबअध्यक्ष रानाको स्वागत तथा प्रगति प्रतिवेदन,कोषाध्यक्ष कमलासिं भण्डारीद्वारा तयार आर्थिक प्रतिवेदन सदस्य नारायण तिमिल्सिनाले र लेखा संयोजक कमलप्रसाद न्यौपानेद्वारा लेखा प्रतिवेदन प्रस्तुति रहेको थियो ।सव डिभिजन वन कार्यालयका रेन्जर मधुसुदन लामिछाने, देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर,छिमेकी वन समुहका अध्यक्षहरु,विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको आतिथ्यता रहेको थियोे ।
साधारण सभामा जनप्रतिनिधिद्वय रानाभाट र घर्ती मगरले स्थानीय तहमा सामुदायिक वन व्यवस्थापनमा यथेष्ट अधिकार नहुँदा वन्यजन्तु-मानव द्वन्दको विषय गम्भीर बन्दै गएकाले संघ,प्रदेश एवं सरकारी डिभिजन वन कार्यालय समेतको ध्यानाकर्षण हुनुपर्ने धारणा राखेका थिए । सामुदायिक वन महासंघ नवलपुरका उपाध्यक्ष कमलप्रसाद बाचे,उपभोक्ता खेमराज सापकोटा,उद्योगबहादुर श्रेष्ठले समुदाय उपभोक्ताले आफ्नो जीउ नै जोखिममा राखेर संरक्षण गरेको सामुदायिक वनबाट प्राप्त हुने पैदावरको उपभोग गर्न नपाउँदा आगामी दिनमा संरक्षण र उत्तरदायित्वमा चासो घट्न सक्नेतर्फ संकेत गरे।
देवचुली नगरपालिकाको वडा नम्बर १०,१५ का अधिकांश, ११ र १४ का आंशिक गरि कुल १ हजार १ सय ४३ उपभोक्ता सदस्य आबद्ध रहेको २८३.३६ हेक्टर क्षेत्रफलमा फैलिएको वन २०७७ सालदेखि वैज्ञानिक वन व्यवस्थापन विधि प्रक्रिया खारेजी गरेपछि वन पैदावर संकलन तथा वितरण रोकिदा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्ता र संस्था व्यवस्थापनमा परेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ।