देवचुली। देवचुली नगरपालिकामा रहेको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा अन्तर्गत देवचुली ११ मा वडागत साधारण सभा सम्पन्न गरेको छ। पुस १२ गते देवचुली १२ बाट सुरु गरेको वडागत साधारण सभा अन्तर्गत सोमबार देवचुली ११ धारापानी चोकमा कार्यक्रम गरिएको हो।
८१ जना महिलाहरुको पहलमा वि.सं. २०५६ सालमा स्थापना गरिएको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाउन लागेको हो।रजत जयन्तीको अवसरमा संस्थाले पुस १२ गतेदेखि २१ गतेसम्म विविध कार्यक्रमहरु गरि मनाइने संस्थाका सचिव फुलमाया विश्वकर्माले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्माले आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट र भावी कार्ययोजना साधारण सभामा प्रस्तुत गर्नुभएको थियो । २१ बुँदामा रहेको भावी कार्य योजनाहरुलाई सभाले पास गरेपछी समितिलाई काम गर्ने बाटो खुल्नेछ। संस्थाले सहकारी विकास लेखा तथा व्यवस्थापन तालिम, सहकारी शिक्षा र स्वास्थ्य शिविर संचालन, उद्यमशिलता, नेतृत्व विकास र क्षमता अभिवृद्धि तालिम संचालन,हिंसा न्यूनीकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम,शेयर सदस्य वृद्धि गर्ने, संस्थाको शाखा विस्तार, मसला बेसार उद्योग स्थापना, कृषि व्यापार प्रवद्धन सम्बन्धी तालिम लगायतका कार्ययोजना उहाँले सुनाउनुभएको थियो।
कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिको संयोजक शान्ति चापागाईले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको २०८० असार मसान्तसम्म ४८ लाख १८ हजार रुपैयाँ नाफा रहेको जानकारी गराउनुभएको थियो। उहाँले संस्थाका कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्थापन गर्नुपर्ने,शेयर सदस्य अन्तरक्रिया कार्यक्रम राख्नुपर्ने,बहुउद्देश्य अनुसार संस्थाद्वारा कार्यक्रम हुनुपर्ने लगायतका सुझावहरु प्रतिवेदन मार्फत व्यक्त गर्नुभएको थियो।
संस्थाको अध्यक्ष रत्नमाया विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली ११ का वडा अध्यक्ष तथा नगर प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा देवचुली ११ का वडा सदस्यहरु,संस्थाका पुर्व अध्यक्ष विमला अधिकारी , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।
महिलाहरुलाई उद्यमशील बनाउने क्षेत्रमा नगरपालिकासँग समन्वय गरि योजना बनाएर काम गर्न सकिने नगर प्रवक्ता तिलप्रसाद काफ्लेले बताउनुभयो । साधारण सभा चलिरहदा संस्थाले बहुउद्देश्य प्रकृतिका कामहरूलाई कसरी अगाडि बढाउने,महिलाहरुको क्षमता अभिवृद्धि कसरी गर्ने लगायतका विषयमा गहन छ्लफल गर्नुपर्ने बताउनुभयो । महिलाहरुलाई आय आर्जन सहित उद्यमशील बनाउनका लागि संस्थाले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा आमा समुहबाट गिता भुसाल,संघसंस्थाबाट यमप्रसाद भुसाल,सल्लाहकार विमला अधिकारी, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका तुल्सी भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो ।सो कार्यक्रमको सहजीकरण सह सचिव गिता भुसाल ( न्यौपाने) ले गर्नुभएको थियो ।