आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

महिला कल्याण रजत जयन्ती: देवचुली १४ मा वडागत साधारण सभा सम्पन्न

    प्रकाशित २०८० पौष १४, शनिबार (११ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा रहेको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा अन्तर्गत देवचुली १४ मा वडागत साधारण सभा सम्पन्न गरेको छ। बिहीबार देवचुली १२ बाट सुरु गरेको वडागत साधारण सभा अन्तर्गत शनिबार संस्थाको सभाहल देवचुली ११ मा कार्यक्रम गरिएको हो।

८१ जना महिलाहरुको पहलमा वि.सं. २०५६ सालमा स्थापना गरिएको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाउन लागेको हो।रजत जयन्तीको अवसरमा संस्थाले पौष १२ गतेदेखि २१ गतेसम्म विविध कार्यक्रमहरु गरि मनाइने संस्थाका सचिव फुलमाया विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिको संयोजक शान्ति चापागाईले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको २०८० असार मसान्तसम्म ४८ लाख १८ हजार रुपैयाँ नाफा रहेको जानकारी गराउनुभएको थियो। उहाँले संस्थाका कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्थापन गर्नुपर्ने,शेयर सदस्य अन्तरक्रिया कार्यक्रम राख्नुपर्ने,बहुउद्देश्य अनुसार संस्थाद्वारा कार्यक्रम हुनुपर्ने लगायतका सुझावहरु प्रतिवेदन मार्फत व्यक्त गर्नुभएको थियो।

संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्माले आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट र भावी कार्ययोजना साधारण सभामा प्रस्तुत गर्नुभएको थियो । २१ बुँदामा रहेको भावी कार्य योजनाहरुलाई सभाले पास गरेपछी समितिलाई काम गर्ने बाटो खुल्नेछ। संस्थाले सहकारी विकास लेखा तथा व्यवस्थापन तालिम, सहकारी शिक्षा र स्वास्थ्य शिविर संचालन, उद्यमशिलता, नेतृत्व विकास र क्षमता अभिवृद्धि तालिम संचालन,हिंसा न्यूनीकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम,शेयर सदस्य वृद्धि गर्ने, संस्थाको शाखा विस्तार, मसला बेसार उद्योग स्थापना, कृषि व्यापार प्रवद्धन सम्बन्धी तालिम लगायतका कार्ययोजना उहाँले सुनाउनुभएको थियो।

संस्थाको अध्यक्ष रत्नमाया विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली १४ का वडा अध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा देवचुली १४ का वडा सदस्य दिपा सुनार,संस्थाका पुर्व अध्यक्ष सरिता मरासिनी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

महिला कल्याणको शेयर सदस्य वृद्धि गर्नका लागि पहिला देखि नै सहयोग गरिरहेको र आगामी दिनमा समेत आवश्यक सहयोगका लागि तयार रहेको देवचुली १४ का वडा अध्यक्ष गोपाल थापाले बताउनुभयो । महिलाहरुको नेतृत्व रहेको र पारदर्शी रुपमा सहकारी संचालन भएको बताउँदै शेयर सदस्यहरुलाई अन्य सहकारी भन्दा ढुक्क भएर वित्तीय कारोबार गर्न उहाँले आग्रह गर्नुभएको थियो।उहाँले महिलाहरूलाई आय आर्जन गर्दै बचत गर्ने बानीको विकास गराउँदै आगामी दिनमा अझै उदाहरणीय काम गर्नका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा पुर्व अध्यक्ष सरिता मरासिनी,शेयर सदस्यको तर्फबाट सरस्वती पन्थी, देवचुली वडा नं १४ का वडा सदस्य दिपा सुनार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष गंगा गौडेल भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।सो कार्यक्रमको सहजीकरण सचिव फूलमाया विश्वकर्माले गर्नुभएको थियो ।संस्थाले आइतबार सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता गर्ने जानकारी दिएको छ।

Write your Comment