देवचुली।मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि नवलपुरको देवचुलीमा मगर संग्रहालय स्थापनाका लागि भवन निर्माण गरिएको छ । नेपाल मगर संघ देवचुली १० ले पृथ्वीनगरमा संग्रहालय बनाउन लागेको हो।मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो संग्रहालय स्थापनाका लागि पहल गरेका हुन् ।
देवचुलीमा मगर समुदायको कला, संस्कृति, रहन, सहन र भेषभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागि समेत संग्रहालय स्थापना गर्न लागिएको मगर संग्रहालयका अध्यक्ष भुवन सिं आलेले बताए।मगरले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री राख्ने उक्त संग्रहालयमा अन्य समुदायलाई अवलोकनका लागि समेत व्यवस्था गरिने योजना रहेको उनले बताए । नगरपालिका,वडा र स्थानीय गाउँबासीहरुको सहयोगमा संग्रहालय बनाउन लागिएको हो।
संग्रहालयका लागि स्थानीय समुदायमा भएका मगर सभ्यता झल्काउने सामग्रीहरु संकलन गरिएको र आगामी फागुन १५ गते समुदघाटन गर्ने तयारी गरिएको मगर संग्रहालयका सचिव गनबहादुर रानाले बताए ।भवनका लागि २२ लाख भन्दा बढीको खर्च भएको उनले जानकारी दिए।
पर्यटन प्रवर्द्धनका लागि समेत मगर संग्रहालय सहयोगी हुने भएकाले यसको थप विकास र प्रवर्द्धनमा राज्यले लगानी गर्नुपर्ने देवचुली नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताए। वडाले संग्रहालयको भौतिक निर्माणका लागि सहयोग गरिरहेको बताउँदै आफ्नै भाषा, संस्कृति, भेषभुषा र संस्कार संस्कृति भएका मगरको मौलिकता रक्षाका लागि सबैले चासो दिनुपर्ने बताए।मगर समुदायको मौलिकता जोगाइराखे देवचुलीको पर्यटन विकासमा समेत टेवा पुग्ने उनले बताए ।