आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

नवलपुरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पुस ८ गतेदेखि सुरु हुने

    प्रकाशित २०८० पौष १, आईतबार (११ महिना अघि)


नवलपुर । नवलपुरमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पुस आठ गतेदेखि सुरु हुने भएको छ ।त्यसै गरि छैठौँ कावासोती नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पुस तीन गतेबाट सुरु हुने भएको छ। कावासोती १२ को राजमन्दिर खेल मैदानमा प्रतियोगिता हुने भएको हो । नगर स्तरीय प्रतियोगिता कावासोती नगरपालिकाको आयोजना र शान्ती निकुञ्ज माध्यामिक विद्यालयको व्यवस्थापन हुँदैछ भने जिल्ला स्तरीय प्रतियोगिता जिल्ला खेलकुद विकास समितको आयोजना शान्ती निकुञ्ज माध्यामिक विद्यालयको व्यवस्थापन हुँदैछ । नगर स्तरीय प्रतियोगिता पुस तीनदेखि पाँच गतेसम्म हुनेछ भने , जिल्ला स्तरीय प्रतियोगिता पुस आठ गतेदेखि १० गतेसम्म हुनेछ ।

प्रतियोगिताको तयारीको सन्दर्भमा आज राजमन्दिर खेल मैदानमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले पालिका स्तरीय र फाइनल दुबै प्रतियोगितामा दौड , रिले दौड , कपर्दी , हाइजम्प , ट्रिपलजम्प , सटपुट, ज्याबलिङ थ्रो, सितेरियो ÷ कराँते तर्फका खेलहरू हुने जानकारी दिनुभयो । पालिका स्तरीय र फाइनल दुबै प्रतियोगितामा करिब आठ सय विद्यार्थीको सहभागिता रहने बताउनुभयो । जसमा छात्राछात्रको संख्या लगभव बराबरनै रहेको उहाँले बताउनुभयो ।

तिन दिनसम्म चल्ने पालिका स्तरीय प्रतियोगिताबाट प्रथम र द्वितीय हुने खेलाडी जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा छनौट हुनेछन् । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीहरू बिच प्रतिस्पर्धा हुनेछ ।

पत्रकार सम्मेलनमा कावासोती १२ का अध्यक्ष तथा खेलकुद समिति संयोजक ध्रुव खनालले १२ नम्बर वडामा नै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुन लागेकोले आफूहरू उत्साहित भएर तयारीमा जुटेको बताउनुभयो । आफ्नो वडाको विद्यालयमा शान्ती माविले पहिलो पटक राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको व्यवस्थापन गर्न पाएको भन्दै गौरवको विषय भएको बताउनुभयो । विद्यालयको आफ्नै खेल मैदान नभएकोले राज मन्दिर खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएकोले केही चुनौती हुने भएपनि सबैसंगको सहकार्यमा सफल हुने बताउनुभयो । पालिका स्तरीय प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने अनुमान गरिएको र उक्त रकम पालिका , विभिन्न संघसंस्था र भूतपूर्व विद्यार्थीहरूको सहयोगबाट जुटिरहेको जानकारी दिनुभयो ।

यस्तै कावासोती १७ का अध्यक्ष चुडामणि थनेतले आफ्नो वडाले गत वर्ष प्रतियोगिता सञ्चालन गरेको अनुभव सुनाउँदै समय व्यवस्थापन गर्न गाह्रो हुने गरेको बताउनुभयो । उहाँले सहभागीहरू समयमै आउने र खेल खेलाउँदा धेरै ग्याप नराखी खेलाउन सके मात्रै तीन दिनमा सम्पन्न गर्न सकिने नभए तीन दिनभित्र सक्न गाह्रो हुने बताउनुभयो ।यस्तै कावासोती शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले सबैसंगको सहकार्यमा नै प्रतियोगितालाई सफल बनाउन सकिने बताउनुभयो ।

पर्सि सुरु हुने पालिका स्तरीय प्रतियोगिता बिहान आठ बजे उद्घाटन हुने शान्ती निकुञ्ज माविका प्रधानाध्यापक हरि न्यौपानेले जानकारी दिनुभयो । गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले प्रतियोगिताको उद्घाटन गर्नुहुने न्यौपानेले बताउनुभयो । प्रतियोगिता हुने खेल मैदानको व्यवस्थापनमा आफूहरू लागिपरेको र भोलिसम्म सबै तयारी सकिने उहाँले बताउनुभयो ।

जिल्ला खेलकुदका प्रवक्ता कृष्ण पाण्डेले जिल्ला स्तरीय प्रतियोगिताको उद्घाटन पुस आठ गते गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री सुशीला सिम्खडाले गर्नुहुने जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनको अध्यक्षतामा भएको थियो।

Write your Comment