कावासोती । गण्डकी प्रदेश सभा सदस्य पदमा जिसी श्रेष्ठले रोजगार र उद्यमशीलतामा जोडिन सके महिलामाथि हुने हिंसा अन्त्य गर्न सकिने बताउनुभएको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कावासोती नगरपालिकाको आयोजना , जिल्ला प्रहरी कार्यालय नवलपुर , जागृति बाल तथा युवा सरोकार नेपाल, क्यानालानको समन्वयमा आज कावासोतीमा भएको अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले महिला पुरुष जोसुकै पनि आर्थिक रुपमा सक्षम हुन सके हिंसा सहन नपर्नेमा जोड दिनुभयो । तर नेपाली समाजमा पुरुषको तुलनामा अझै पनि आर्थिक रुपमा महिलाहरू नै बढी कमजोर भएको हुँदा हिंसामा बढि पर्ने गरेको बताउनुभयो ।
महिलाहरूलाई उद्यमशील बनाउन केन्द्र , प्रदेश र स्थानीय सरकारले विभिन्न सीपमूलक तालिमहरू प्रदान गर्न बजेट विनियोजन गरिरहेको भन्दै उहाँले तालिम लिएर पाएको सीपलाई सदुपयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । स्थानीय सरकार आइसकेपछि विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गर्ने गरेपनि त्यसको उपलब्धि नदेखिएको उहाँले तर्क गर्नुभयो । आफूले पाएको सीपलाई सदुपयोग गरेर आयआर्जन जोडिन सके महिलाहरू आफैमा सशक्त हुने उहाँले सुझाव दिनुभयो । यस्तै महिला मात्र नभइ , विपन्न , एकल महिला , एचआइभी संक्रमित महिला , अशक्त अपाङ्गता भएकाहरू अझ बढि हिंसामा परिरहेको भन्दै उहाँले उनीहरूको लागि आफ्नो तर्फबाट प्रदेश सरकारसँग कुरा उठाउने बताउनुभयो । त्यस्ता वर्गका निम्ति आयआर्जनका कार्यक्रम , सचेतनाका कार्यक्रमहरू ल्याउन आफूले पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू दिने ठाउँमा नभइ माग्ने ठाउँमा भएको जिकिर गर्दै के कस्ता कार्यक्रमहरूले समेट्न सकिन्छ त्यसको लागि पैरवी गर्ने बताउनुभयो । यस्तै उहाँले सबैमा सकारात्मक सोँचको विकास गर्न जरुरी रहेको समेत बताउनुभयो । सबैसँग समान व्यवहार र सकारात्मक सोच राख्न सके मात्रै हाम्रो समाज सही ढंङ्गबाट विकास हुने उहाँको भनाई थियो । हिंसा न्यूनिकरण गर्न सर्वप्रथम आफू सही हुन र सच्चिनु पर्ने , आफूबाट हिंसा गर्दिन भन्ने प्रण हुनुपर्ने बताउँदै त्यसपछि परिवार र समाज पनि हिंसा रहित बन्न सक्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले विभिन्न किसिमका गुनासो र जिज्ञासाहरू राखेका थिए । कार्यक्रममा अपाङ्गता भएका , एचआईभी संक्रमित , महिला वडा सदस्यहरु , दलित समुदायबाट र महिला बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाबाट आउनुभएको प्रतिनिधिहरूले समाजमा रहेको अशिक्षा , अन्धविश्वास , विभिन्न किसिमका संस्कार र पितृसत्तात्मक सोचका कारण हिंसा अन्त्य हुन नसकेको बताएका थिए । समय अनुसार विभिन्न हिंसाहरूमा कमि आएपनि पूर्ण रुपमा अन्त्य गर्न अझै नसकिएको बताएका थिए । समयको परिवर्तनसँगै हिंसाको स्वरूपमा पनि परिवर्तन आएको तर हिंसा भने नरोकिएको तर्क गरेका थिए । कतिपय सङ्घसंस्थाका प्रतिनिधिहरूले भने पालिकाबाट पर्याप्त मात्रामा बजेट विनियोजन हुन नसकेको गुनासो समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन कुमार शर्माले जिल्लामा विगत र चालु वर्षमा घटेका हिंसाको तथ्याङ्क के कस्तो छ त्यसका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यस्तै हिंसा भनेको के हो ? कस्ता कस्ता प्रकार हिंसा समाजमा व्याप्त छ ? त्यसको कारण के हुन त भन्ने बारेमा समेत सहभागिलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसाल , निमित्त प्रसशकिय प्रमुख क्षेत्र बहादुर भण्डारी , महिलाअधिकारकर्मी लिला थनेत लगायतले मन्तव्य राख्नुभएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सुशिला तिमिल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको समापन गर्दै उपप्रमुख फूलकुमारी थनेतले सहभागिहरुले राखेका प्रश्नको जवाफ दिनुभएको थियो । उहाँले सीमित श्रोत भएका कारण कतिपय अवस्थामा विभिन्न सङ्घसंस्थालाई प्रयाप्त मात्रामा बजेट दिन नसकिएको बताउनुभयो । तर सकेसम्म सबैलाई समेटेर बजेट कार्यक्रम बनाएको उहाँको भनाई थियो । महिलाका लागि यसअघि पनि सिलाइबुनाइ तालिम , कुसन बनाउने , ड्राइभिङका तालिम , चुरापोते बनाउने तालिम दिएको चर्चा गर्दै , तालिम लिएपछि सदुपयोग हुन नसक्दा दुख लागेको बताउनुभयो । उहाँले आफूले पाएको सीपको सही सदुपयोग गरेर आयआर्जनमा जोडिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी सुभद्रा शर्माले सहजीकरण गर्नुभएको थियो । अन्तरकृया सुरु हुनुअघि विभिन्न सचेतनामूलक प्ले कार्ड सहित प्रभातफेरी निकालिएको थियो । कावासोती नगरपालिकाबाट निस्केको र्याली हाटबजार चोक हुँदै फलफूलचोकबाट निस्केर सभापतीचोकबाट पुन कावासोती नगरपालिकामा आइपुगेको थियो ।