आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

नेपाल आदिवासी जनजाति महासंघ गैडाकोटको अध्यक्षमा नरबहादुर थापा चयन

    प्रकाशित २०८० मंसिर ९, शनिबार (१ साल अघि)


नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा रहेको नेपाल आदिवासी जनजाति महासंघ गैडाकोट नगर समन्वय परिषदको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशन आज गैडाकोटमा भएको छ ।

अधिवेशनले नरबहादुर थापा मगरको अध्यक्षतामा १२ सदस्यीय नयाँ समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार महतो, उपाध्यक्षमा रामचन्द्र भुजेल, सचिवमा धनबहादुर कुमाल, कोषाध्यक्षमा कृष्णमान श्रेष्ठ, सहसचिवमा सुबेदार मेजर यामबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरुमा राममाया दरै, धनबहादुर घिसिङ, नरबहादुर छन्त्याल, टिकाराम माझी, पूर्णिमा प्रजा र सुनिल बोटे चयन भएका छन् ।

अधिवेशन तथा साधारण सभा ललितबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले आदिवासी जनजाति समुदायको नेतृत्व तहमा रहनेहरुलाई नेपालको शासन व्यवस्था पुरानो अवस्थामा फर्काउने आन्दोलनमा लाग्न वा त्यस्तो आन्दोलनको नेतृत्व गर्न छुट नभएको बताए । अहिलेको संविधानले उपलब्ध गराएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताको विरुद्ध आन्दोलन गर्नेहरु आदिवासी जनजातिको आन्दोलनलाई दबाउन जनजाति महासंघको नेतृत्वमा तहमा आउने प्रयास गरेकोले परिवर्तनका पक्षधरहरुले त्यस्तालाई नेतृत्व तहमा पुग्न दिन नहुनेमा जोड दिए । उनले भने – अहिलेको संविधानले केही अधिकार सुनिश्चित गरेको र त्यो अझै पूर्ण नरहेकोले आदिवासी जनजातिका अगुवाहरु थप आन्दोलित हुनुको विकल्प छैन ।

निर्वाचित समितिका पदाधिकारीहरुलाई आज नै सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा आदिवासी जनजातिका अगुवाहरु, विभिन्न जातीय संगठनका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वक्ताहरुले आदिवासी जनजातिको हक, अधिकार सुनिश्चिताको लागि नयाँ नेतृत्वले काम गर्नु पर्नेमा जोड दिएका थिए ।

Write your Comment