देवचुली। देवचुली नगरपालिकाले आज प्रगतिनगर र दलदले बजार अनुगमन गरेको छ। देवचुलीका बजारमा दैनिक उपभोग्य वस्तु, तिहारमा बढी प्रयोग हुने फूल मालाका पसल तथा होटलहरुको अनुगमन गरिएको हो । बजारमा प्लाष्टिकको फूलको बिक्री वितरण नगराउन,अखाद्य वस्तुहरु बिक्री वितरण हुन नदिन, शुद्धतामा ध्यान दिन किराना पसल,होटल तथा फूल बिक्री गर्ने पसलहरुको अनुगमन गरिएको हो ।
देवचुली नगर उपप्रमुख पार्वता तिवारीले बजारलाई सुव्यवस्थित बनाउनुका साथै उपभोक्ताहरुलाई गुणस्तरीय वस्तु उपलब्ध गराउनका लागि नगरपालिकाले नियमित बजार अनुगमन गर्ने कार्य अन्तर्गत अनुगमन गरिएको बताउनुभयो । स्थानीय किसानहरूले उत्पादन गरेका सयपत्री फूलहरु देवचुलीमा पर्याप्त भएकाले प्लाष्टिकबाट बनेका फूलहरु बिक्री वितरण नगराउन पसलेहरुलाई सचेत गराउन बजार अनुगमन गरिएको समेत तिवारीले बताउनुभयो । देवचुली नगरपालिकामा वार्षिक कार्यतालिका बमोजिम नियमित बजार अनुगमन कार्य गरिने उहाँले बताउनुभयो ।
प्रगतिनगर र दलदलेमा गरिएको बजार अनुगमनबाट केही पसलबाट म्याद सकिएका कुकिज,पाउरोटी र चिसो पेय पदार्थहरु जफत गरिएको, दर्ता नभएका पसलहरुलाई नियम अनुसार दर्ता गर्न र होटलहरुको नियमित सरसफाइमा ध्यान दिन सचेत गराइएको उप प्रमुख पार्वता तिवारीले बताउनुभयो ।
देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा,सम्बन्धित वडाका वडा अध्यक्ष,नगरपालिकाका कर्मचारीहरु,इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी कार्यालय दलदलेका प्रहरीहरु, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।