देवचुली। देवचुलीमा संचालित प्रथम देवचुली नगरपालिका वडास्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगितामा देवचुली १६ र देवचुली १७ फाइनल प्रवेश गरेका छन् । प्रगतिकला मन्दिर युवा क्लबको आयोजना तथा देवचुली १४ को सह आयोजनामा जन ज्योति नमूना माध्यमिक विद्यालयको खेल मैदानमा संचालित प्रतियोगितामा बिहीबार देवचुली १६ र देवचुली १७ विजयी हुँदै फाइनल प्रवेश गरेका हुन् ।
बिहिबार भएको पहिलो खेलमा देवचुली १७ ले देवचुली ११ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। खेलमा देवचुली १७ का प्रकाश हमालले गोल गरेका थिए। सो खेलमा देवचुली १७ का शुकलाल तामाङ म्यान अफ दि म्याच घोषित भएका थिए।
त्यसै गरि दोस्रो खेलका लागि देवचुली १६ ले देवचुली १४ लाई १-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो।खेलमा देवचुली १६ बाट मिनबहादुर क्षेत्रीले गोल गरेका थिए । सो खेलमा देवचुली १६ का गोलरक्षक कृष्ण न्यौपाने म्यान अफ दि म्याच घोषित भएका थिए।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद १५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताका उत्कृष्ट खेलाडी,गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।प्रतियोगिताको फाइनल खेल देवचुली १६ का विरुद्ध देवचुली १७ बिच शनिबार दिउँसो २ बजे हुने आयोजक क्लबका खेल संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए।