देवचुली। देवचुलीमा संचालित प्रथम देवचुली नगरपालिका वडास्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगितामा देवचुली ११ र देवचुली १६ सेमिफाइनल प्रवेश गरेका छन् । प्रगतिकला मन्दिर युवा क्लबको आयोजना तथा देवचुली १४ को सह आयोजनामा जन ज्योति नमूना मा वि को खेल मैदानमा संचालित प्रतियोगितामा बुधबार देवचुली ११ र देवचुली १६ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।
बुधबार भएको पहिलो खेलमा देवचुली ११ ले देवचुली १२ लाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। खेलमा देवचुली ११ बाट रेमबहादुर ठाडाले २ गोल, रमेश गुरुङ र समिर बिकले १/१ गोल गरेका थिए। सो खेलमा देवचुली ११ का रेमबहादुर ठाडाले म्यान अफ दि म्याचको पुरस्कार प्राप्त गरेका थिए।
त्यसै गरि दोस्रो खेलका लागि देवचुली १६ ले देवचुली १३ लाई १-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो।खेलमा देवचुली १६ बाट मिनबहादुर क्षेत्रीले गोल गरेका थिए । सो खेलमा देवचुली १६ का मेखबहादुर क्षेत्रीले म्यान अफ दि म्याचको पुरस्कार प्राप्त गरेका थिए।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद १५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताका उत्कृष्ट खेलाडी,गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।प्रतियोगितामा बिहीबार देवचुली ११ का विरुद्ध देवचुली १७ बिच पहिलो सेमिफाइनल दिउँसो २:४५ बजे र देवचुली १४ का विरुद्ध देवचुली १६ बिच दिउँसो ४ बजे दोस्रो सेमिफाइनल खेल हुने आयोजक क्लबका खेल संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए।
बुधबारको खेलमा देवचुली नगरपालिकाका प्रवक्ता तथा देवचुली ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्ले,देवचुली ४ का वडा अध्यक्ष गिरबहादुर थापा (राम),देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल,देवचुली १४ का वडा अध्यक्ष गोपाल थापा,देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका खिमानन्द भुसाल,सचिव इन्द्रमणी भुसाल,देवचुली नगर युवा तथा खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीमलाल तिवारी लगायतको उपस्थिति रहेको थियो।