देवचुली। देवचुली नगरपालिका वडा नम्बर ८ मा आयोजित तेस्रो स्व. गोपाल सिं भक्तिसरा लुंगेली स्मृति खुला भलिबल तथा दोस्रो महिला खुला भलिबल प्रतियोगिता पुरुषतर्फ देवचुली ९ र महिलातर्फ मध्यबिन्दु नगरपालिका बिजेता भएका छन् ।दियो जनसेवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा पुरुष तर्फ देवचुली ९ विशालटारले कावासोती १५ बरौलीलाई ३-२ को सेटले विजयी भएको हो भने महिला तर्फ मध्यबिन्दु नगरपालिकाले देवचुली नगरपालिकालाई ३-० को सोझो सेटले पराजित गरेको हो।
पुरुषतर्फ प्रतियोगिताको बिजेता देवचुली ९ विशालटारले नगद ४० हजार रुपैयाँ सहित मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता कावासोती १५ बरौलीले नगद २५ हजार रुपैयाँ सहित मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि तृतीय हुने देवचुली १६ ले नगद १५ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
महिला तर्फ मध्यबिन्दु नगरपालिकाले नगद १० हजार रुपैयाँ सहित मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता देवचुली नगरपालिकाले नगद ५ हजार रुपैयाँ सहित मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
क्लबका अध्यक्ष बुद्धि फालको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगरको प्रमुख आतिथ्यता,जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा विशिष्ट आतिथ्यता रहेको थियो। त्यसै गरि देवचुली ९ का अध्यक्ष बलिराम सापकोटा, जनप्रतिनिधिहरु,समाजसेवी, विभिन्न संघसंस्था प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताका बिजेता,उपबिजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगर,जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले पुरस्कार वितरण गर्नुभएको थियो। समापन कार्यक्रम संचालन क्लबका सचिव सुरेन्द्र रिजालले गर्नुभएको थियो।