देवचुली। देवचुली नगरपालिकामा स्थानीय वन ऐन कार्यविधि कार्यान्वयन सम्बन्धि स्थानीय सरकार र सरोकारवालासंग छलफल गरिएको छ।सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)नवलपुर शाखाको आयोजनामा जनचेतना सामुदायिक वनको कार्यालय देवचुली ६ मुण्डेमा सरोकारवालाको उपस्थितिमा कार्यक्रम गरिएको हो।देवचुलीमा निर्माण भएको स्थानीय वन ऐन २०७९ कार्यान्वयन गर्नुका साथै कार्यविधि निर्माण समिति गठनका लागि कार्यक्रम गरिएको फेकोफन नवलपुरका उपाध्यक्ष कमलप्रसाद बाचेले जानकारी दिनुभयो ।
फेकोफन नवलपुरका उपाध्यक्ष कमलप्रसाद बाचेको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिकाका वन,वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक होमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली वडा नम्बर ६ का वडा अध्यक्ष मिनबहादुर सोती, वडा न ७ का अध्यक्ष भुमिसरा थापा,वडा न ८ का वडा अध्यक्ष नुनप्रसाद बाचे, ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाका अध्यक्ष ठाकुरप्रसाद पाण्डे,फेकोफन नवलपुरका प्रतिनिधि,सामुदायिक वनका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छ्लफल गरिएको थियो।
कार्यक्रममा स्थानीय वन ऐन कार्यान्वयनमा भएका समस्या तथा पालिकाले सामुदायिक वनबाट लिने राजस्व विषयमा सरोकारवालासँग छलफल भएको थियो।छलफल पश्चात देवचुली नगरपालिकाका वन,वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक होमनाथ पौडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यविधि निर्माण समिति गठन गरिएको छ। जस्को सदस्यमा भुमिसरा थापा,भुमबहादुर राई,दुर्गादेवी विष्ट,टुकलाल रुचाल,विष्णु अधिकारी र १ जना डिभिजन वन कार्यालयको प्रतिनिधि रहने छन् ।
फेकोफन देवचुलीका अध्यक्ष कृष्ण तिवारी र देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापाले गठन गरिएको कार्यविधि निर्माण समितिले स्थानीय ऐनको राम्रोसँग अध्ययन गरि संशोधन गर्नुपर्ने प्रावधानलाई प्राथमिकता दिनुपर्ने भनाई राख्नुभएको थियो। देवचुली नगरपालिकाका वन,वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक होमनाथ पौडेलले ऐन संशोधन लगायतका विषयमा कार्यविधी निर्माण समितिमा छ्लफल गरिने बताउनुभयो । सामुदायिक वनका विभिन्न समस्या समाधानका लागि ऐनको कार्यान्वयनमा जोड दिनुपर्ने र संशोधन गर्नुपर्ने प्रावधानलाई छलफल गरि ऐनमा समावेश गर्न सकिने उहाँले बताउनुभयो ।
कार्यक्रम फेकोफन नवलपुरका सचिव सुशील पौडेलले संचालन गर्नुभएको थियो।देवचुली नगरपालिकामा १८ वटा सामुदायिक वन रहेका छन् ।