आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    प्रकाशित २०८० आश्विन १४, आईतबार (१ साल अघि)


दयाराम आचार्य,नवलपुर । कुनै समय विकट रहेको कुमसोत अहिले पर्यटकको गन्तव्य बन्दै गएको छ । नवलपरासी –बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका –६, मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।

देवचुली, कावासोती र हुप्सेकोट गरि तीन पालिकालाई जोड्ने यो स्थानमा हिजो आज दैनिक रुपमा भ्रमणमा पुग्नेको संख्या बढ्दो रहेको छ । पूर्व पश्चिम राजमार्गदेखि करिब ९ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ । राजमार्ग देखिको नजिकको पहाडी क्षेत्रका रुपमा रहेको यहाँबाट नवलपुरको उत्तरतर्फ रहेका पहाडी भूभाग, जिल्लाकै अग्लो स्थान देवचुली डाँडो , दक्षिण तर्फ नवलपुरको समथर भूमाग, राजमार्ग आसपासका घना बस्ती सहज रुपमा अवलोकन गर्न सकिन्छ । यसका साथै चितवनका भूभाग, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको मनोरम दृश्य समेत सहज रुपमा अवलोकन गर्न सकिने भएकाले कुमसोत आन्तरिक तथा छिमेकी जिल्लाका पर्यटकको गन्तव्य बन्दै गएको छ ।

देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने यहाँ सडक, विद्युत, खानेपानीको उपलब्धताले यहाँको विकासमा टेवा पुर्याएको देवचुली नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मीन बहादुर सोतीले बताउनुभयो । ‘विकासका विभिन्न पूर्वाधार निर्माणले यसको विकासमा सहयोग पुग्यो, राजमार्गको सहज पहुँच भयो , यो सँगै क्रमश सुविधाजनक होटलहरू खुल्न थाले , विस्तारै धेरै पर्यटकको रोजाइमा कुमसोत पर्नथाल्यो ’ वडा अध्यक्ष सोतीले भन्नुभयो ।
आन्तरिक पर्यटकहरू गर्मीको समयमा गर्मी छल्नका लागि पनि कुमसोत पुग्ने गरेका छन् । बिदाको दिन तथा चाडपर्वको समयमा कुमसोतमा उल्लेख्य रुपमा आन्तरिक पर्यटक आउने गरेको वडा अध्यक्ष सोतीले बताउनुभयो ।

आन्तरिक र वाह्य पर्यटक भित्राउन योजना बनाई काम गरिरहेको वडा अध्यक्ष सोतीले बताउनुभयो । सोतीका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने योजनाका साथ काम अघि बढाइएको छ । प्राकृतिक मनोरम स्थल भएकाले यसलाई पर्यटनसँग जोड्ने र पर्यटनलाई आर्थिक उपार्जनसँग जोड्दै जाने आफूहरूको योजना रहेको उहाँले बताउनुभयो । कुमसोत र जिल्लाकै अग्लो डाँडो देवचुलीको काखमा पर्ने किर्तिपुरको विकासको प्रमुख आधार पर्यटन हुन सक्ने भएकाले सोही अनुसारका कामहरू वडा तथा नगर स्तरबाट बढाउँदै लैजाने वडा अध्यक्ष सोतीले बताउनुभयो ।

पालिका भित्रको प्रमुख पर्यटकीय स्थलका रुपमा देवचुली डाँडो पर्ने र यो सँगै जोडिएका कुमसोत र किर्तिपुरमा समेत पर्यटनको प्रचुर सम्भावना भएकाले नगर स्तरबाट यस क्षेत्रमा थप पूर्वाधार विकास लगायतका काम अघि बढाउँदै लैजाने नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

कुमसोतलाई जिल्लाको पहाडी क्षेत्रको प्रवेशद्वारका रुपमा समेत लिइन्छ । यही स्थान हुँदै जिल्लाको पहाडी क्षेत्रमा पर्ने पालिकाहरू बौदीकाली , बुलिङटार र हुप्सेकोट गाउँपालिकाको केही वडाहरू पुग्न सकिन्छ । जिल्लाको तराई क्षेत्र र पहाडी क्षेत्रलाई जोड्ने स्थलको रुपमा समेत रहेको कुमसोतमा पर्यटकको आगमन बढ्दै आफूँहरु उत्साहित बनेको वडा अध्यक्ष सोतीले बताउनुभयो ।

Write your Comment