आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

जापानिज इन्सेफ्लाइटिसबाट नवलपुरमा एकजनाको मृत्यु

    प्रकाशित २०८० भाद्र १९, मंगलबार (१ साल अघि)


नवलपुर । नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका ६६ वर्षीय महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवन स्थित अस्पतालमा भर्ना भएकोमा भदौ ७ गते मृत्यु भएको हो ।

चालु आर्थिक वर्षको जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताउनुभयो । परिक्षण रिपोर्ट ढिलो गरि आउने हुँदा मृत्यु पछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा नवलपुरमा ७ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा ५ जनाको ज्यान गएको थियो ।

जिल्लामा अहिले जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका एक जनाको चितवन स्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाँईले बताउनुभयो । देवचुली नगरपालिकाकी १५ वर्षीय बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको उनको चितवन स्थित अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

जिल्लाका दुईवटा पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी पुष्टि भएपछि बिरामी भेटिएका स्थान वरपर अन्य केही व्यक्तिको रगत परीक्षणका लागि आज रगत संकलन गरिँदै छ । साथै उक्त स्थान वरपर स्वाथ्य कार्यालको संक्रियतामा सचेतनामूलक कार्यक्रम समेत गरिँदै छ ।

जापानिज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय भएको स्वास्थ्य कार्यालय नवलपुरका लामखुट्टेको टोकाइबाट बच्नु प्रमुख चापागाँईले बताउनुभयो । उहाँका अनुसार यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने , धेरै टाउको दुख्ने, बेहोस हुने, बान्ता आउने, शरीर काँप्ने जस्ता लक्षण देखिन्छन् । अबको केही महिना जापानिज इन्सेपफ्लाइटिसको जोखिम धेरै हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्न विशेष ध्यान पुर्याउनुपर्ने कार्यालय प्रमुख चापागाँईले बताउनुभयो । नेपालको इतिहासमा सन् १९७८ मा रूपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।

Write your Comment