आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

माैलाकालिका मन्दिरमा फाेटाेग्राफरकाे काम: फोटो खिचेरै आम्दानी

    प्रकाशित २०८० भाद्र १७, आईतबार (१ साल अघि)


दयाराम आचार्य,नवलपुर । नेपालगञ्ज घर भएका आर्यन राना मगर बिहान छ बजे गैँडाकोटमा रहेको मौलाकालिका मन्दिर पुग्नुहुन्छ । हातमा क्यामेरा बोकी दिनहुँ मन्दिर पुग्ने र मन्दिरमा पुगेका भक्तजनहरूको फोटो खिच्नु उहाँको दैनिकी बनेको छ । यही दैनिकी सहित फोटो खिच्ने पेशा उहाँको आम्दानीको स्रोत समेत बन्ने गरेको छ । विगत एक वर्ष देखि नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैँडाकोटमा रहेको मौलाकालिका मन्दिर परिसरमा आर्यनले फोटो खिच्दै आउनु भएको छ ।

मन्दिरमा आएर राम्रो फोटो खिच्न सोख हुनेहरू उहाँका ग्राहक बन्छन् । फोटो खिचेर राम्रै आम्दानी गर्दै आएको आर्यनले बताउनुभयो । हरेक दिन बिहानै मन्दिर आउने र कहिले साँझसम्म कहिले दिउँसोसम्म बसेर फोटो खिच्ने गरेको उहाँले बताउनुभो । फोटो खिचेर दैनिक कम्तिमा रु. ५ सय देखि रु. २० हजार सम्म आम्दानी गरेको उहाँले बताउनुभयो । गएको नयाँ वर्षको दिनमा मात्रै फोटो खिचेर रु. २० हजारसम्म आम्दानी गरेको उहाँले बताउनुभयो । प्राय चाडपर्व, बिदाको दिनमा भक्तजन धेरै आउने हुँदा आम्दानी समेत धेरै हुने गरेको उहाँको भनाई छ । ‘आम्दानी राम्रै छ, एकै दिन बीस हजार सम्म पनि कमाइएको छ, हुनै भएन भन्दा पनि ५/६ सम्म कमाइ हुने गरेको छ’ आर्यनले भन्नुभयो ।

माडी घर भएका प्रकाश परियारले समेत फोटो खिचेरै आफ्ना खर्च चलाउँदै आउनु भएको छ । एक वर्ष देखि मन्दिरमा फोटो खिच्ने काम गर्दै आउनु भएका उहाँले फोटो खिचेर राम्रै आम्दानी गरेको बताउनुभयो । ‘यस्तै हो पाँच/छ सय देखि दिनको दुई हजार सम्म हुने गर्छ, धेरै मान्छे मन्दिर आउँदा धेरैनै हुन्छ, ठेगान नै हुँदैन ’ प्रकाशले भन्नुभयो ।

पहिले प्रतिफोटो रु. २० मा खिच्दै आएकोमा हाल प्रतिफोटो रु. २५ लिने गरेको उहाँले बताउनुभयो । टिकटकका लागि भिडियो खिच्नेका लागि भने थप पैसा लाग्ने उहाँको भनाई छ । क्यामेराबाट फोटो खिचेर सम्बन्धित व्यक्तिको मोबाइलमा सारिदिने गरेको प्रकाशले बताउनुभयो । आफ्नो क्यामेरा नभएपछि भाडामा लिएर फोटो ग्राफी गर्दै आएको बताउने प्रकाशले दैनिक आम्दानीको ५० प्रतिशत क्यामेरा मालिकलाई दिने गरेको बताउनुभयो ।

मौलाकालिका मन्दिर परिसरमा आर्यन र प्रकाश जस्तै ८ जना फोटो ग्राफर रहेका छन् । मन्दिरलाई मासिक तीन हजार प्रदान गरेर उनिहरुले मन्दिर परिसरमा फोटो खिच्दै आएका छन् । अन्यले समेत फोटोग्राफीबाटै आम्दानी गर्ने गरेका छन् ।

मन्दिरमा हाल ८ जना फोटो खिच्ने फोटो ग्राफर दर्ता भएको र उनिहरुलाई मात्र व्यवसायिक रुपमा फोटो खिच्नका लागि अनुमति प्रदान गरिएको मौलाकालिका मन्दिर दानपेटी व्यवस्थापक मोती भण्डारीले बताउनुभयो । मन्दिर परिसरमा व्यवसायिक फोटो खिच्नेहरुले प्रत्ययक महिनाको अग्रिम रु. तीन हजार मन्दिरलाई भुक्तानी गरि फोटो खिच्ने गरेको उहाँको भनाई रहेको छ । वर्षको सुरुमा निवेदन माग गरि ८ जनालाई फोटो खिच्न दिइएको भण्डारीले बताउनुभयो । मन्दिरको अनुमति बेगर कसैलाई व्यवसायिक रुपमा फोटो खिच्न नदिइने उहाँले बताउनुभयो । मन्दिरमा फोटो खिच्ने पेशामा संलग्नहरूले फोटो खिचेर आम्दानी गर्दै आएका छन् ,अर्को तर्फ मन्दिरको समेत आम्दानीको स्रोत बनेको दानपेटी व्यवस्थापक भण्डारीले बताउनुभयो । हिजो आज धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा फोटो खिचेर आम्दानी गर्नेहरू उल्लेख्य हुने गरेका छन् ।

Write your Comment