देवचुली।देवचुलीमा महिला उद्यमी सशक्तीकरणका लागि सरोकारवालाहरुसँग परामर्श गोष्ठी सम्पन्न भएको छ । बुधबार इन्टरनेसनल डेभलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोगमा फरेष्ट एक्सन नेपाल, हिमवन्ती नेपाल, पारिवारिक निजि वन संघ र वन पैदावर उद्योग व्यवसायी महासंघको आयोजनामा देवचुली र गैंडाकोट नगरपालिकाका प्रमुख, उप प्रमुख, डिभिजन वन कार्यालयका प्रतिनिधि र उद्यमी महिलाहरूबीच महिला उद्यमी सशक्तीकरणका बारेमा छ्लफल गरिएको हो ।
वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण परियोजना मार्फत देवचुली र गैंडाकोट नगरपालिकाका सामुदायिक वनका ८ वटा उद्यम समूहबाट महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन गोष्ठी आयोजना गरिएको परियोजनाको योजना प्रमुख सिर्जना बरालले जानकारी दिइन् । स्थानीय सरकारले उद्यमी महिलाहरुलाई निरन्तर उद्यम संचालन गर्ने वातावरण मिलाउन र स्थानीय उत्पादनको बजारीकरणमा सरोकारवालाको भूमिकालगायतका विषयमा छलफल गरिएको उनले बताइन् ।
पारिवारिक निजी वन संघका केन्द्रीय सदस्य सीता भुसालको अध्यक्षता भएको गोष्ठीमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइराला, फेकोफन नवलपुरका उपाध्यक्ष कमलप्रसाद बाचे, डिभिजन वन कार्यालय नवलपुरका सहायक डिभिजन वन अधिकृत दीपक पण्डित, देवचुली- ९ का वडा अध्यक्ष बलिराम सापकोटालगायतका सरोकारवालाको उपस्थितिमा गोष्ठी गरिएको हो ।
कार्यक्रममा थाकल महिला उद्यमी समूहका अध्यक्ष कोपिला रायमाझी, कुचो उद्यमी महिला समुहका सचिव रिलकुमारी तामाङ, शंखदेवी दुना टपरी उद्यम महिला समूहका अध्यक्ष राममाया ढेंगा मगर, सुन्दरी त्रिफला उद्यमी समूहका अध्यक्ष कोपिला परियार, सगरमाथा दुना टपरी उद्यमी महिला समूहका सदस्य त्रिशला नेपालीलगायतले परियोजनाबाट भएको सहयोग, उद्यम संचालन गर्दा र हाल आएको बाधा व्यवधानहरु जानकारी गराएका थिए ।
उद्यमी महिलाहरुले स्थानीय सरकारले उनीहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणको लागि सहयोग गर्न र उद्यमी महिला समूहको लागि आवश्यक सहयोग गर्न अनुरोध गरेका थिए ।
वनमा खेर गएका सालका पात, थकाल, अम्रिसोलगायतबाट आम्दानी गर्न सकिने परियोजनाले सिकाएको देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले बताइन् । महिला उद्यमी समुहबाट निर्माण गरिएका सामग्रीहरुलाई संकलन गरी कोसेली घर बनाई बिक्री वितरण गर्ने गरि नगरपालिकाले योजना बनाएको र सरोकारवालासँग साझेदारी काम गर्न नगरपालिका तयार रहेको उनले बताइन् । उद्यमी महिलाहरुलाई निरन्तर उद्यम संचालनका लागि नगरपालिका, सामुदायिक वन, उपभोक्ता समूह र सरोकारवालाहरुको सहकार्य हुन आवश्यक रहेको उनको भनाई छ ।उद्यमी महिलाहरुलाई पालिकाले आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले आफ्नो पालिकामा रहेका उद्यमी महिलाहरुको गुनासोलाई पालिकाले सम्बोधन गर्ने बताइन् । परम्परागत कामलाई व्यवसायिक गराउन परियोजनाको महत्वपूर्ण भूमिका रहेको बताउँदै आफ्नो पालिकामा यस्तै सिर्जनात्मक कार्यक्रमको निरन्तरता दिन समेत परियोजना संचालन गर्ने संस्थाहरुलाई आग्रह समेत गरिन् ।
गोष्ठीमा तीन समुहको निर्माण गरी महिला उद्यममा देखिएका सवालहरुलाई सम्बोधनका उपायहरुको बारेमा समूह कार्य समेत गरिएको थियो ।