आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा अमर ज्योति महिला उद्यमी समुहको भवन उदघाटन

    प्रकाशित २०८० भाद्र १२, मंगलबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ४ मा रहेको अमर ज्योति महिला समुहको भवन उदघाटन गरिएको छ। वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण परियोजना र अमर ज्योति सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा निर्माण गरिएको भवनको मंगलबार देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले उदघाटन गर्नुभएको हो। अमर ज्योति महिला उद्यम समुहद्वारा दुना टपरी उद्योग र अदुवा बेसार उत्पादन एवं प्रशोधन उद्योग संचालन छन् ।

भवन उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले देवचुलीका २ वटा सामुदायिक वन अन्तर्गतका महिलाहरुले वन संरक्षण गर्दै वनबाट प्राप्त हुने सालका पात,थाकल,अम्रिसो,बेसार उत्पादन गरि आय आर्जन गरिरहेको र उक्त परियोजनामा रहेका उद्यम महिलाहरूले उत्पादन गरेका सामग्रीहरुलाई नगरपालिकाले बजारीकरण गर्ने उहाँले बताउनुभयो ।आफ्नै वरपरको कच्चा पदार्थ प्रयोग गरि आफ्नो फुर्सदको समयलाई उपभोग गर्दै आय आर्जन गर्न सकिने भएकाले सबै जना सकृय भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । बढ्दो प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्ने निति निर्माण गरि कार्यान्वयन गर्ने तयारीमा नगरपालिका रहेको उहाँले बताउनुभयो । महिलाहरुलाई उद्यमी बनाउनका लागि नगरपालिकाको आवश्यक सहयोग रहने उहाँले उदघोष गर्नुभएको थियो।

अमर ज्योति महिला उद्यम समुहको भवन निर्माण समितिका अध्यक्ष लालुमाया नेपालीको अध्यक्षता भएको उदघाटन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा मालपोत कार्यालय कावासोतीका प्रमुख उपेन्द्र पौडेल,देवचुली २ का वडा अध्यक्ष शरद घिमिरे,देवचुली ४ का वडा अध्यक्ष गिरबहादुर थापा , कार्यपालिका सदस्य विद्या विश्वकर्मा,फेकोफन नवलपुरका उपाध्यक्ष कमल बाचे, परियोजनाका व्यवस्थापन सिर्जना बराल, फरेष्ट एक्सन नेपालका प्रमुख अनुसन्धानकर्ता कन्चन लामा, विभिन्न संघसंस्था, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिलगायत उद्यमी महिलाहरुको उपस्थिति रहेको थियो।

वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण परियोजनाको ९ लाख २ हजार रुपैयाँ सहयोग र अमर ज्योति सामुदायिक वनको ३ लाख २ हजार रुपैयाँ सहयोग गरि १२ लाख ४ हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको अमर ज्योति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टुकलाल रुचालले बताउनुभयो ।

कार्यक्रममा शंखदेवी सामुदायिक वन उपभोक्ता समुहका सदस्य गंगा कंडेल,नमूना महिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बेलमती थापा,फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक कमल भण्डारी,फेकोफन नवलपुरका उपाध्यक्ष कमल बाचे, फरेष्ट एक्सन नेपालका प्रमुख अनुसन्धानकर्ता कन्चन लामा,मालपोत कार्यालय कावासोतीका प्रमुख उपेन्द्र पौडेललगायतले उद्यम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।सो कार्यक्रमको संचालन अमर ज्योति सामुदायिक वन उपभोक्ता समुहका सचिव कान्ता पण्डितले गर्नुभएको थियो।

नवलपुरको देवचुली र गैंडाकोट नगरपालिकाका २ /२ वटा सामुदायिक वनका महिलाहरुका लागि फरेष्ट एक्सन नेपाल,हिमवन्ती नेपाल,पारिवारिक निजी वन संघ, नेपाल वन पैदावर उद्योग महासंघ नेपालले वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण परियोजना संचालन गरेका छन् ।

Write your Comment