देवचुली।वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी हुँदै गएको छ।“वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरण” कार्यमूलक अनुसन्धान परियोजना इन्टरनेसनल डेभेलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोगमा फरेष्ट एक्सन नेपाल सहित हिमवन्ती नेपाल, पारिवारिक नीजि वन संघ र वन पैदावार उद्योग व्यवसायी महासंघको साझेदारीमा २०७८ असोजबाट कार्यान्वयन भैरहेको छ।
सिन्धुपाल्चोक जिल्लाका दुई पालिका र नवलपुरका दुई पालिका गरि दुई जिल्लाका चार पालिकाहरुमा यो परियोजना २०८० चैतसम्म कार्यान्वयन हुनेछ।वनमा आधारित उद्यमहरु मार्फत महिलाहरुको आर्थिक सशक्तिकरणका लागि उनीहरुको नेतृत्वदायी भूमिका, दिगो आयआर्जन, जलवायु परिवर्तनका जोखिमबाट सुरक्षित हुँदै सामाजिक, आर्थिक, पर्यावरणीय उत्थानशीलता र वन संरक्षणमा निर्णायक भूमिकामा उभ्याउन यो परियोजना लागू गरिएको हो।
सोमबार परियोजना अन्तर्गत देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ३ मा रहेका सक्रिय दुना टपरी महिला उद्यमी समूह देउराली गाउँ र बाँसका सामग्री उत्पादन महिला उद्यमी समूह भुजेल गाउँका महिलाहरूलाई अन्तर समूह अध्ययन भ्रमण गराइएको छ। अन्य समूहका उद्यमी महिलाहरूले कसरी काम गरिरहेका छ्न भन्ने थाहा हुने भएपछि खुसी भएका महिलाहरु गैंडाकोट १४ भागरमा रहेको शंखदेवी सामुदायिक वन उपभोक्ता समूहको कार्यालय पुगेका थिए।
शंखदेवी दुना टपरी महिला उद्यमी समूहले गरेका कामहरु,सुरुमा आएका समस्याहर र समाधानका उपायहरु,दुना टपरीको बजारीकरणका लागि गरिएका कामहरुका बारेमा समूहकी सदस्य जुना कुँवरले जानकारी गराएकी थिइन् । ` परियोजनाले हामी महिलाहरुलाई सीप सिकाएर दाइजो स्वरुप दुना टपरी मेसिन उपलब्ध गराउँदा दाइजो नै दिएको सम्झिएका छौं ,हाम्रो जीवनशैली बदल्नका लागि दुना टपरी उद्योगले मदत गरेको छ´ जुनाले भनिन् । भावुक हुँदै उनले भनिन् -` यो परियोजनामा सहभागी नभएको भए सायद यतिखेर रक्सी बनाउने,घरधन्दा गर्दै समय बिताएका हुन्थ्यौं होला। ´
सामुदायिक वन र परियोजनाको सहयोगमा शंखदेवी दुना टपरी उद्योगका लागि भवन निर्माण गरिएको छ। शंखदेवी सामुदायिक वनका अध्यक्ष सीतादेवी सापकोटा,सचिव पिताम्बर पाण्डेलगायत कार्यसमितिका सदस्यहरुसहित उद्यमी समूहले गरेका कामहरु र वनले गरेको सहयोगका बारेमा अन्तरक्रिया गरिएको थियो। दुवै समूहका महिलाहरूले आफ्ना समस्या र आफुहरुले गरिरहेको कामका बारेमा जानकारी आदानप्रदान गरेका थिए।
शंखदेवी सामुदायिक वनमा अन्तरक्रिया सकिएपछि जिल्ला डिभिजन वन कार्यालयमा पुगि उद्यमी महिलाले निमित्त डिभिजन वन अधिकृत दिपक पण्डित, वन अधिकृत हरिप्रसाद गौतम र सव डिभिजन वन कार्यालय गैंडाकोटका वन अधिकृत सूर्य सिं गुरुङसँग आफ्ना समस्या राखेका थिए । निमित्त डिभिजन वन अधिकृत पण्डितबाट समस्या समाधानका लागि पहल गर्ने आश्वासन पाएपछी महिलाहरू खुसी भएका थिए। वन संरक्षणमा महिलाहरुले नै चासो दिने कार्य सराहनीय भएको बताउँदै सव डिभिजन वन कार्यालय गैंडाकोटका वन अधिकृत गुरुङले नियम अनुसार सहयोग गर्न तयार रहेको बताए ।
गैंडाकोटबाट आएको महिलाहरुको टोलीले देवचुलीका नमूना महिला सामुदायिक वन उपभोक्ता समूह र अमर ज्योती सामुदायिक वन उपभोक्ता समूहका उद्यमी महिलाहरुसँग संवाद गरेका थिए । नमूना महिला सामुदायिक वन उपभोक्ता समूहमा थाकल उद्यमी महिला समूह र कुचो उद्यमी महिला समूहले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए।थाकल उद्यमी महिला समूहकी सचिव रिलकुमारी तामाङले उद्यमी महिलाहरूको नेतृत्वमा नमूना महिला सामुदायिक वन र परियोजनाको सहयोगमा भवन निर्माण सम्पन्न गरिएको,थाकलबाट बनेका सामग्रीहरुको बजारीकरण र उद्यम बन्दा भोगेका समस्या तथा समूहले गरेका प्रगतिका कुराहरु सुनाएकी थिइन् ।दुवै वनका महिलाहरुले अन्तरसंवाद गर्दै आआफ्ना समूहले गरेका कामको जानकारी आदानप्रदान गरेका थिए।
अमर ज्योती सामुदायिक वन उपभोक्ता समुहमा दुना टपरी उद्योग र बेसार उत्पादन तथा प्रशोधन उद्योग संचालन गरेका उद्यमी महिलाहरूले उद्योग संचालनमा भएका समस्याहरु र अहिलेको अवस्थाको बारेमा जानकारी गराएका थिए। वनका अध्यक्ष टुकलाल रुचालले उद्यमी महिलाहरूको सक्रियतालाई सदैव वन उपभोक्ता समूहले सहयोग गर्ने बताएका थिए।
तीनवटा सामुदायिक वनमा आफुहरु जस्तै महिला उद्यमीहरुले गरिरहेको कामबाट निकै प्रभावित भएको र आफ्नो क्षेत्रमा पनि समूहलाई सक्रिय बनाई काम गर्ने प्रेरणा पाएको बाँसका सामग्री उत्पादन महिला उद्यमी समूह भुजेल गाउँकी शान्ति भुजेलले बताइन् । उद्यमी भवन नबन्दा समस्या भएको र अब समस्या समाधान हुने कुरामा ढुक्क भएको उनले बताइन् । परियोजनाका माध्यमबाट विभिन्न कार्यक्रम तथा व्यक्तिहरुसँग समन्वय भइरहने हुँदा अझ सशक्तीकरण भएको उनले बताइन् ।
फेकोफन गैंडाकोटका अध्यक्ष निर्मला कंडेलले परियोजनाले महिला सशक्तीकरण गर्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै उद्यमीबाट निर्माण गरिएका सामग्रीहरुको बजारीकरणका लागि सबै जना लाग्नुपर्ने बताइन् । फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक कमल भण्डारीले अन्तर समुह भ्रमणबाट एक अर्का समुहबीच निर्माण गरिएका सामग्रीहरु साटफेर गर्न र आपसमा परिचित गराउनका लागि महत्वपूर्ण हुने बताए। एक अर्का समूहले निर्माण गरिएका सामग्रीहरुको बजारीकरणका लागि गरेका कार्यलगायत अन्य जानकारी साटासाट गर्ने माध्यम भएकाले समूहहरुलाई काम गर्न सजिलो हुने अपेक्षा लिएको भन्डारीले बताए।
अध्ययन भ्रमणमा देउराली सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी ,उद्यमी महिलाहरु लगायतको सहभागिता रहेको थियोे ।