कावासोती। कावासोती नगरपालिका वडा नम्बर १ मा बाल विवाह विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । कावासोती १ मा रहेको जन कल्याण माध्यमिक विद्यालयका बालबालिकाहरुलाई बाल विवाहको असर, बाल विवाह हुनुको कारण, बाल बिवाह रोक्ने उपाय र कानुनी प्रावधानको बारेमा सचेत गराईएको हो ।
जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्यान्ड सँगको साझेदारीमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतको बाल क्लबका पदाधिकारीहरुको क्षमता विकास अन्तर्गत सचेतना कार्यक्रम सन्चालन गरिएको किशोरी अभियन्ता रेजिना घर्तीमगरले बताउनु भयो । समुदायमा बाल विवाहको स्वरुप फेरिएको छ, पहिला अभिभावकले बालविवाह गरिदिने गरेकोमा अहिले स्वयम् बालबालिकाले नै आफैं बालविवाह गर्ने गरेकाले बालबालिका लक्षित सचेतनाको लागि विद्यालय र समुदाय लक्षित अभियान सुरु गरेको संस्थाले जनाएको छ ।नवलपुरमा बाल बिवाहको दर बढदै गएकाले सानो उमेरमा नै आमा बन्ने तथ्यांकले देखाएको छ ।
कार्यक्रममा बाल विवाह भनेको के हो? बाल बिवाहको असरहरु के के हुन? नेपालमा कानुनी अवस्था के रहेको छ? बालबालिकाले बाल बिवाह रोक्न गर्न सकिने कामहरुको बारेमा सहजीकरण गरिएको छ । कार्यक्रममा किशोरी अभियन्ताहरु रेजिना घर्ती मगर, राधा बोटेले सहजीकरण गर्नुभयको थियो ।
कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आशा गैरे ब्लोनले बालबालिकालाई सानो उमेरबाट नै यसरी सचेतना दिन सकिए बालविवाह र अन्य हिंसा अन्त्य गर्न सकिने बताउनु भएको थियो । विद्यालयमा गरिब, सीमान्तकृत समुदायका बढी बालबालिका अध्ययनरत रहेको र अभिभावकलाई समेत यस्ता बारेमा सचेत गर्नको लागि अनुरोध गर्नुभएको थियो ।