काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरेर उनले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । २०७६ साल कात्तिकमा कप्तान बनेका ज्ञानेन्द्रले २०७८ मंसिरसम्म राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका थिए । इमर्जिङ एसिया कप खेलेर राष्ट्रिय टोली फर्किएको भोलिपल्टै मल्लले सन्यास घोषणा गरे।
ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए । आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको पनि उनले स्पष्ट पारे । ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु,’ उनले भने ।
ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा आफ्नी पत्नीबाट निकै साथ पाएको बताए । आफ्नी छोरीलाई पनि सम्झिएँ । ‘यत्रो वर्ष क्रिकेट खेलेँ । प्रकृतिको नियम नै हो । चेञ्ज हुनुपर्छ । भित्रैदेखि फिल गरेको कुरा भनेको यही ठिक समय हो’, उनले थपे ।राष्ट्रिय खेलाडी भएपछि आफूले पूर्णरुपमा योगदान दिन नसक्दा बसिरहनु ठिक नहुने सोचेको उनले बताए ।ज्ञानेन्द्रले भने, ‘धेरै अगाडिदेखि नै आफ्नो दिमागमा आइरहेको थियो । फेरि अझै पुस गर्नुपर्छ भन्ने लाग्यो । अहिले टिम राम्रो छ, ब्यालेन्स छ । यही ठीक समय हो भन्ने लागेर निर्णय लिएको हुँ ।’
नेपाली टोलीले श्रीलंका भएको इमर्जिङ नेशन्स कपमा सहभागी हुँदा ज्ञानेन्द्र टोलीमा परेका थिएनन्।नेपालले खेलेका पछिल्ला खेलहरुमा पनि उनलाई प्राय बेन्चमा राखिएको थियो। इमर्जिङ एसिया कपमा उनीसहित नेपालका सिनियार खेलाडीहरुलाई विश्राम गराइएको थियो।