आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु नगरपालिका

    प्रकाशित २०८० अषाढ २६, मंगलबार (१ साल अघि)


नवलपुर । फोहर व्यवस्थापन शहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला शहरहरूले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहोरबाट कम्पोस्ट मल उत्पादन थालेको छ ।
मध्यविन्दु नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रम मार्फत फोहर व्यवस्थापनको काम संचालन गरेको छ । उक्त कार्यक्रम मार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ । फोहोरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरि नगरपालिका अघि बढेको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
नगरपालिकाले दिगो रुपमा नगर भित्रको फोहर मैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहोरसँगै आम्दानीलाई जोडेर हिँडाएको उहाँको भनाई छ । ‘फोहर व्यवस्थापन गर्दै गर्दा यसलाई दिगो बनाउन आम्दानीसँग जोड्ने योजना अनरुप काम अघि बढिरहेको छ , सोही योजना अनुसार कम्पोस्ट मल उत्पादन जोडिएको हो ।’ नगर प्रमुख अधिकारीले भन्नुभयो ।

नगरपालिकाले घरबाट उत्पादन हुने कुहिने फोहर तथा वनजंगलमा रहेका सुकेका पातबाट कम्पोस्ट मल उत्पादन थालेको छ । हालैमात्र विभिन्न समूहमा आवद्ध १ सय ४३ जनाले वनजंगलमा सुकेका पात संकलन गरि नगरपालिकालाई बेचेर आम्दानी समेत गरेका छन् । प्रतिकेजी रु. ५ दशमलब ४० पैसा सम्ममा पात खरिद गरि मल उत्पादन गरिएको छ । सुकेको पात ,गाईभैँसीको गोबरको मात्रा मिलाएर मल तयार गर्ने गरिएको छ । पात संकलनबाट केही भएपनि आम्दानी भएको र सामान्य घरखर्च चलाउन सहयोग पुगेको स्थानीय सिता पुरीले बताउनुभयो । संकलित पात सहित घरबाट उत्पादन हुने कुहिने फोहोरबाट समेत मल उत्पादनको काम अघि बढेको छ । सुख्खा समयमा वनजंगलमा सुकेका पात संकलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउन समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

नगरले घरबाट फोहर वर्गीकरणलाई कडाइका साथ लागू गरेको छ । कुहिने र नकुहिने फोहोर वर्गीकरण पछि घरबाटै फोहोर व्यवस्थापनको काम हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । ‘फोहोर वर्गीकरण गर्ने बित्तिकै कतिपयले कुहिने फोहोर आफैपनि व्यवस्थापन गर्ने गर्नुभएको छ, यसबाट नगरले व्यवस्थापन गर्ने फोहोरमा कमी आएको छ’ प्रमुख प्रशासकीय अधिकृत पनेरुले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारको करिब रु.२ करोड १३ लाख र पालिकाको करिब ६४ लाखको लागतमा फोहोरमैला व्यवस्थापनको कार्यक्रम अघि बढेको हो । कार्यक्रम मार्फत फोहोर व्यवस्थापन केन्द्र निर्माण, कम्पोस्ट मल तयार पार्ने उपकरण लगायतका सामाग्री खरिद गरिएको छ ।

कुहिने फोहरबाट कम्पोस्ट मल तयारगर्न का लागि आवश्यक गोबरको व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढेको छ । यसले आवश्यक गोबर मलको माग पुरा हुने साथै छाडा चौपाया व्यवस्थापनको काममा समेत सहयोग पुग्ने कार्यक्रमका फोकल पर्सन विवेक पोख्रेलले बताउनुभयो ।
फोहर व्यवस्थापनका क्रममा उत्पादन गरिने कम्पोस्ट मल नगर भित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराइने योजना रहेको छ । समग्रमा कार्यक्रमले फोहर व्यवस्थापन ,स्थानीय रोजगारी सिर्जना , छाडा चौपाया व्यवस्थापन ,कम्पोस्ट मल उत्पादनलाई जोड्ने पोख्रेलले बताउनुभयो । यो सँगै उत्पादित कम्पोस्ट मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन ,कृषि उत्पादन बढाउन र अर्गानिक उत्पादनलाई समेत सहयोग पुर्याउने फोकल पर्सन पोख्रेलले बताउनुभयो ।रासस

Write your Comment