देवचुली। नवलपुरको देवचुली नगरपालिकामा देवचुली नगर अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरु भएको छ ।गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले सोमबारदेखि अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरु गरिएको हो ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेले सेवा शुभारम्भ गर्दै नगरबासीका लागि पर्याप्त सेवा प्राप्त होस् भन्ने चाहनालाई पूरा गर्न नगरपालिकाले नगर अस्पतालमा २४ सैं घण्टा आकस्मिक सेवा सहित सर्पदंशको उपचार सुरु गरिएको बताउनुभयो ।नगर अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरबासीको सर्पको टोकाइबाट ज्यान नजाओस् भनेर अस्पतालबाट नै उपचार सेवा दिन लागेका हौं ।’
नगरपालिकाको सहकार्यमा सेवा शुरू गरिएको अस्पतालका प्रमुख चित्रबहादुर सुनारले बताए । ‘आवश्यक विज्ञ चिकित्सकसँगको परामर्श र सहकार्यमा उपचारको तयारी गरेका हौं,’ उनले भने, ‘सरोकारवालासँग सर्पको टोकाइ र यसको उपचारका लागि गरिने विधि र जोखिमबारे अन्तरक्रिया समेत गरिसकेका छौं ।’
देवचुली नगर क्षेत्र नवलपुर जिल्लाकै सर्पदंशको जोखिममा रहेको छ । यस क्षेत्रमा बर्सेनि सर्पको टोकाइबाट मानिसले ज्यान गुमाउने गरेका छन् ।
यस क्षेत्रका सर्पदंशका बिरामीलाई मध्यविन्दु जिल्ला अस्पताल र चितवनको भरतपुर जानू पर्ने बाध्यता थियो। अब नगर अस्पतालबाट नै उपचार सेवा दिन सुरु गरिएको नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीले बताउनुभयो ।नगर अस्पताल २४ घण्टा संचालनसँगै आवश्यक जनशक्ति व्यवस्थापनको लागि देवचुली नगरपालिकाबाट बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा गर्मी बढेसँगै विषालु सर्पले बर्सेनि मानिसको ज्यान जाने गरेपछि अस्पतालमा उपचार सेवा दिन सुरु गरिएको हो ।’