देवचुली । नवलपुरकाे देवचुली नगरपालिकाले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रममा विदेशबाट फर्किएका व्यक्तिहरुलाई प्राथमिकता दिएको छ। विदेशमा सिकेको सीप, ज्ञान, क्षमतालाई पहिचान गरि उनिहरुले चाहेको व्यवसायमा विशेष अनुदान प्रदान गर्ने नगरले नीति लिएको छ।
नगर प्रमुख हरिप्रसाद न्याैपानेले आगामी आवकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाको रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगारलाई “युवा राजगारीका लागि रुपान्तरण पहल’ आयोजनाहरु र “कामका लागि पारिश्रमिक” मा आधारित सामुदायिक आयोजनाहरू सङ्घीय बजेट तथा स्थानीय तहको बजेट साझेदारीमा सञ्चालन गरि प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।
श्रम डेस्क स्थापना गरि अनौपचारिक क्षेत्रका श्रमिकहरुको अभिलेख तयार गरि उनीहरुकोश्रम संरक्षणको लागि पहल गरिने, रोजगार सेवा केन्द्रमा सूचिकृत प्रत्येक वडाका बेरोजगारमध्ये कम्तिमा बिस जना श्रमिकको पहिचान गरि स्थानीय तहमा सञ्चालन हुने श्रममुलक योजनाहरु र विकास निर्माणका आयोजनाहरुमा अनिवार्य काममा आउने गरि आयोजना मजदुरको रुपमा सहभागी गराइने, परदेशवाट युवाले ल्याएको सीप र ज्ञान, समृद्ध देवचुलीमा योगदान” लाई साकार पार्न वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको दक्षता, सीप, क्षमता र ज्ञान पहिचान गरे उनीहरुले गर्न चाहेको व्यवसाय उत्पादनमुलक र रोजगारमुलक भएमा विशेष अनुदान प्रदान गरिने , साथै यस्ता व्यावसायीहरुलाई विभिन्न बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले प्रदान गर्ने सहुलियतपूर्ण कर्जा प्राप्तिका लागि आवश्यक सहजिकरण गरिने नगर प्रमुख न्याैपानेले उल्लेख गर्नुभयाे ।
रोजगार सिर्जना हुन नसक्ने क्षेत्रमा कार्यरत मजदुरको सीप कृषि तथा पशुपालन जस्ता उत्पादनमुलक क्षेत्रमा रुपान्तरण गर्न सक्षम गराउने खालका तालिम कार्यक्रमहरु सञ्चालन गरिने नीति रहेको उहाँले बताउनुभयो ।