देवचुली । देवचुली नगरपालिकाले सर्प उद्दारकर्मीहरुका लागि बजेट उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरभित्र सर्प उद्दारका लागि जाने क्रममा उद्दारकर्तालाई यातायात खर्च ,सर्प उद्दारकर्मी इन्स्योरेन्स,उद्दार कार्य र पुनःस्थापनाको लागि आवश्यक तालिम तथा उद्दार सामाग्री वितरण, खाजा खर्च तथा आवश्यक कामका लागि १ लाख बजेट उपलब्ध गराउने देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
सर्प उद्दार कार्यको नेतृत्व गर्दै आएका देवचुली १६ का अश्विन ओझालाई कार्यालयमा बोलाई सर्प उद्दारको महत्त्वपूर्ण कार्यमा सक्रिय भएकोमा नगर प्रमुखद्वारा धन्यवादसहित राय सुझाव लिनुभएको थियो। सर्प उद्दारकर्मी ओझाले सर्पको संरक्षण गर्न र सरिसृप सर्पको म्युजियम बनाउनका लागि नगरपालिकाले विशेष योजना बनाउन अनुरोध गर्नुभएको थियो।सर्पको संरक्षण गरेर पनि नयाँ पर्यटनको क्षेत्र बनाउन सकिने भएकोले नगरले यो तर्फ सोच्न पनि उहाँले नगर प्रमुखसँग अनुरोध गर्नुभएको थियो ।
देवचुली,गैंडाकोट र कावासोती नगरपालिकामा सर्प उद्दारमा सक्रियहरुको द्रुत प्रतिकार्य समूह बनाई काम गर्न आवश्यक रहेको ओझाले बताउनुभयो। देवचुलीको दुम्कौली र दलदले क्षेत्र आसपासमा गोमन सर्पको संख्या बढिरहेको बताउँदै ओझाले सर्पदंश उपचारका लागि देवचुलीको नगर अस्पतालमा प्राथमिक सर्पदंश उपचार केन्द्र स्थापन गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो। शिक्षण पेशामा आबद्ध ओझाले बिहान र बेलुका समयमा उद्दारमा आफै समावेश हुने साथै दिउँसोमा समूहका उद्दारकर्मीहरुलाई सर्पको उद्दारमा पठाउने गरेको उहाँले बताउनुभयो ।
उद्दारकर्मी ओझाको सुझावपछि नगर प्रमुख न्यौपानेले युवाहरुले गरेको सकारात्मक कार्यका लागि नगरपालिकाको सदैव सहयोग रहने बताउनुभयो । नगरपालिकाले सर्प उद्दारमा सक्रिय युवाहरूलाई प्रोत्साहन स्वरुप केही बजेट व्यवस्थापन गरिएको र आगामी दिनमा समेत सुझाव अनुसार काम गरिने न्यौपानेले बताउनुभयो । सर्प संरक्षणको अभियानलाई समेत जनस्तरमा पुर्याउन उहाँले आग्रह गर्नुभएको थियो।