राजु चापागाई,देवचुली।खडेरीका कारण कतिपय स्थानमा खानेपानीको चरम अभाव भइरहँदा देवचुली नगरपालिकामा रहेको नेपाल कै उत्कृष्ट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आइतबारबाट पानीको स्रोत थप गरेको छ । खानेपानी संस्थाले सीताबासमा रहेको फिल्टर ट्यांकीमा २ इन्चको भुमिगत पानीको स्रोत थप व्यवस्थापन गरेको हो । पानीको स्रोत थप भएसँगै वितरणमा सहज हुने संस्थाले जनाएको छ ।
बढ्दो गर्मीसँगै पानीको मुहान सुकिरहँदा पानीको व्यवस्थापनका लागि खानेपानी संस्थाले विभिन्न स्रोतहरुको खोज गरिरहेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो। `दुईदिनसम्म संस्थाका पदाधिकारी र कर्मचारीहरुको अहोरात्र खटाईले आज पानी थप गर्न सफल भएका छौं´ – भुसालले भन्नुभयो। उपभोक्तालाई पानीको अभाव हुन नदिन समिति र कर्मचारी निरन्तर काम गरिरहेको भुसालले बताउनुभयो। कतै पानीको चुहावट भए संस्थामा खबर गर्न र खानेपानीको सञ्चय गरेर राख्नका लागि समेत उनले उपभोक्तालाई आग्रह गर्नुभयो । `प्रति व्यक्ति दैनिक १५० लिटर अधिकतम उपलब्ध गराउँदा पानी पर्याप्त हुन्छ भन्ने मान्यता छ तर निर्माणका काम , करेसाबारी र धानकाे बिउमा समेत खानेपानी प्रयाेग भएकाेले दैनिक ६० लाख लिटर वितरण हुँदा पनि कतिपय ठाउँमा पानी कम भएकाे, छतमा नचढेकाेलगायत समस्या र गुनासाे आएकाेले स्राेत थप गरिएकाे हाे´-अध्यक्ष भुसालले भन्नुभयो ।
सेवा क्षेत्रभित्र चोबिसै घण्टा पानी वितरण गर्ने खानेपानी संस्थाले खडेरीका कारण पानी कम भएकाले पानीको सही सदुपयोग गर्न उपभोक्तालाई सचेत गराएको संस्थाका सचिव इन्द्रमणी भुसालले बताए । उपभोक्तालाई संस्थाको फेसबुक पेजबाट निरन्तर सूचना दिँदै पानीको उचित प्रयोगका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ५२ सय धारामार्फत देवचुली नगरपालिकाको आधा जनसंख्याका भन्दा बढीका लागि खानेपानी वितरण गरेको छ । संस्थाले देउसत खोलाको मुहानको पानीसँगै ५ वटा बोरिङबाट निरन्तर खानेपानी प्रवाह गर्दै आइरहेको छ । देवचुली नगरपालिकामा ५८ हजार ३ जनसंख्या रहेको छ भने प्रगतिनगर खानेपानीका उपभोक्ता ३० हजार छन् ।