काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ ।एसीसी प्रिमियर कप अन्तर्गतको समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरमा जितका लागि २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्लले नटआउट ७० रनकाे याेगदान गरे । मल्लले ४० बलमा ५ चौका र ५ छक्का हाने । चौका हान्दै खेल सकाएका दीपेन्द्रसिंह ऐरी ५ रनमा नटआउट रहे ।
भीम सार्की ९८ बलमा ५ चौकासहित ७१ रनमा आउट भए । भिम र मल्लले चौथो विकेटका लागि १ सय १२ रनको सानदार साझेदारी गरे । कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३८ रन बनाए । नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो । मलेसियाका लागि विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान १-१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले समान ३ विकेट लिए ।