नवलपुर । मध्यबिन्दु नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।इन्सेक गण्डकी प्रदेशको आयोजना तथा मध्यबिन्दु मानव अधिकार समुहको समन्वयमा बुधबार सो कार्याशाला सम्पन्न भएको हो।
मध्यबिन्दु मानवअधिकार समूहका अध्यक्ष भुपलाल अर्यालले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।मानव अधिकार समुहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गर्ने अर्यालले बताउनुभयो ।
मध्यबिन्दु नगरपालिका वडा न ७ का अध्यक्ष कर्णबहादुर मल्लले वातावरण संरक्षणका लागि सबै पक्ष सक्रिय भई सचेतनाका अभियान संचालन गर्नुपर्ने बताउनुभयो । घर,समुदायबाट नै फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको मल्लले बताउनुभयो ।
मध्यबिन्दु नगरपालिकामा फोहोरमैलाको व्यवस्थापनका लागि नवप्रवर्द्धन कार्यक्रममार्फत कार्ययोजना निर्माण गरि काम अघि बढाइएको मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । पालिकालाई वातावरणमैत्री बनाउनका वडा तहसम्म काम गरिरहेको र सबै पक्ष समेटेर नीति तथा कार्यक्रम तयारी गरि आवश्यक पर्ने कानुन निर्माण गर्ने पनेरुले बताउनुभयो । नगरपालिकामा तत्काल वातावरण शाखा निर्माण गर्ने र सो शाखा मार्फत वातावरण संरक्षण सम्बन्धि कार्यक्रम संचालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
कार्यशालामा दिपक शर्माले वातावरण संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।मध्यबिन्दु मानव अधिकार समुहका अध्यक्ष भुपलाल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मध्यबिन्दु नगरपालिका वडा न ७ का अध्यक्ष कर्णबहादुर मल्ल, शिक्षक, विद्यार्थी, क्लब तथा बाल समूहका सदस्यको सहभागिता रहेको थियो ।