आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

थारु समुदायको कन्तरी पूजा सुरु

    प्रकाशित २०७९ चैत्र २२, बुधबार (१ साल अघि)


नवलपुर।नवलपरासी(बर्दघाट सुस्तापूर्व)का थारु समुदायले पाँच/पाँच वर्षमा धुमधामका साथ मनाउने संसारी (कन्तरी) पूजा सुरु भएको छ ।

थारू समुदायमा विशेष महत्वका साथ (कन्तरी) पूजा पर्वकै रुपमा मनाउने गरिन्छ । हरेक पाँच/पाँच वर्षमा थारु समुदायले कन्तरी पु्जा गर्ने र परिवारमा सुख शान्ति मिल्ने विश्वासका साथ पुजा गर्ने परम्परा रहेको कावासोती नगरपालिका १५ का टिका चौधरीले बताउनुभयो ।चैत पूर्णिमाको दिन स्थानीय स्तरमा गाउँमा रहेको शाखा थानमा गरिने पूजा भने सर्वसाधारणको उपस्थितिमा तीन दिन अघिदेखि गर्ने गरिएको छ । यो पूजा देवचुली डाँडामा रहेको श्रीथान कुंवारंवर्ती माई (देवी) थानमा गएर गर्ने गरिन्छ । श्रीथान कुंवारंवर्ती माई (देवी) संरक्षण समिति नवलपुरका सचिव पतिराम थनेतले यस बर्षको संसारी माइको पूजा सुरु भएको बताउनुभयो । “कन्तरी पूजा गर्दा देवीको पूजा गर्ने र डोला सहित हात्ति, घोडा र मानिसका मूर्ति बनाएर स्थानीयको घरबाट मूर्तिलाई नारायणी नदिमा लगेर चोखो बनाई स्थानीय स्तरमा गाउँमा रहेको शाखा थानमा पुर्‍याएर मूर्ति स्थापना गरिन्छ” उहाँले भन्नु भयो “घरमूलीले सुरूमा थाली उठाइसकेपछि मात्र अरुले क्रमशः लाइनबद्ध तरिकाले उठाउने गरिन्छ, पूजा गर्ने स्थान पुगेपछि पनि घरमूलीदेखि गुरुले विधिवत रुपमा पूजाआजा गर्ने गरिन्छ ।”

रोगव्याधी अन्त्यको लागि थारु समुदायले कन्तरी माइ र संसारी माइको पूजा गर्ने परम्परा रही आएको पुजारी गुनकुमार गुरौले बताउनु भयो । “थारु समुदायका फरक–फरक कुलघरानले मान्ने कुलदेवता हुन् र छुट्टाछुट्टै स्थानमा हुन्छन्” उहाँले भन्नुभयो “जिल्लाको कावासोतीका विभिन्न स्थान , देवचुली डाडा, गैडाकोटको सिख्रौली, भेडाबारी, विनयी त्रिवेणीको सर्दि गरि ११ स्थानमा कुलदेवताको देवीथान स्थापना गरि पूजाआजा गरिने छ ।”

नवलपरासी(बर्दघाट सुस्तापूर्व) र चितवनका थारु समुदाय पूर्णिमाको अघिल्लो रात कृतिपुरमा बास बसी २३ गते अर्थात चैत पूर्णिमाको दिन संसारी माइको पुजा गर्ने तयारी गरिएको छ । सोही स्थानमा पाँच बर्षमा एक पटक भने कन्तरी माइको पूजा गर्ने प्रचलन थारु समुदायमा रहेको छ ।

गीत गाउँदै पूजा गर्ने र पूजा गरिसकेपछि पुनः सबै घरमा गई थारुहरूको परम्परा अनुसार पूजा गर्ने स्थानमा खसि,बोका, कुखुरा लाई वलि दिएर साँझ घरमा खानाखाने कावासोती नगरपालिका १० का स्थानीय चन्द्रा महत्तोले बताउनु भयो । “थारुहरूले हरेक पर्वमा पुज्ने अग्नि देवताको लागि पनि भाग छुट्याइन्छ, परिवारका सबै सदस्यसँगै बसेर रमाइलो गर्दै एक अर्कामा माया र सद्भाव साटासाट गर्दै खाने र रमाउने गरिन्छ” उहाँले भन्नुभयो ।

थारू जातिको इतिहास प्रारम्भ भएदेखि थारू समुदायले उत्साहका साथ हरेक पाँच वर्षमा कन्तरी पूजा मनाउँदै आएको थारु अगुवा खुसीराम महतोले बताउनुभयो । “थारू जातिको उत्पत्ति कहाँ र कसरी भयो ? थारूहरुको सभ्यताको विकास कसरी भयो ? भन्ने जस्ता कुराको स्पष्ट चर्चा पूजा अवधिभर गर्ने परम्परा रहेको छ” उहाँले भन्नुभयो ।

पाण्डव थारू समुदायको सबभन्दा ठूलो देवता भएकाले कन्तरी पूजा गरेपछ घरपरिवारमा सुखशान्त मिल्ने र रोगव्यादी नलाग्ने धार्मिक विश्वास रहेको महतोले बताउनुभयो । थारु जातिको मौलिक तथा प्राचिन कला, संस्कृति युवा पुस्तामा हराउदै जान थालेको पनि थारु अगुवा महतोले चिन्ता व्यक्त गर्नुभयो ।(रासस)

Write your Comment