देवचुली । स्व. जयबल्लभ भुसालको स्मृतिमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। स्व. जयबल्ल भुसालको ६ महिनाको पुण्यतिथिमा अमेरिकामा रहेका उहाँका छोराहरू जीवलाल भुसाल,डोलराज भुसाल,खुमप्रसाद भुसाल र यज्ञ भुसालद्वारा देवचुली १० मा रहेको पृथ्वी मा वि का विद्यार्थीहरुलाई आर्थिक सहयोग गरिएको हो। विद्यालयका विपन्न तथा जेहेन्दार १२ जना विद्यार्थीहरुलाई जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो । देवचुली १० का ढुण्डीराज काफ्ले (संजय)को मार्फत भुसाल परिवारले विद्यार्थीहरुलाई छात्रवृत्ति रकम उपलब्ध गराएको हो ।
देवचुली नगरपालिका वडा नं. १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरको अध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै कार्यक्रममा देवचुली नगरपालिकाका शिक्षा शाखाका अधिकृत नन्दलाल ढकाल,निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर घर्ती मगर,पूर्व व्यवस्थापन समितिका अध्यक्षहरु,शिक्षक अभिभावक संघका पूर्व अध्यक्षहरु,राजनैतिक दलका प्रतिनिधिहरु,शिक्षकहरु,विद्यार्थीहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो।
देवचुली नगरपालिका वडा नं. १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेकोमा भुसाल परिवारलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न सरोकारवाला हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । विद्यालयमा आवश्यक सहयोगका लागि वडा कार्यालय सदैव सहकार्य गरिरहेको समेत उहाँले बताउनुभयो ।
केही महिना अघि २ जना विद्यार्थीहरुलाई २५ हजार रुपैयाँ सहयोग गरेको भुसाल परिवारले बुवा स्वर्गीय जयबल्लभ भुसालको १ वर्षको पुण्यतिथिमा स्वयं उपस्थित भई छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने तयारी गरेको ढुण्डीराज काफ्ले (संजय)ले जानकारी दिनुभयो ।