देवचुली । शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले आयोजना गरेको जिल्लास्तरीय छनोट प्रतियोगितामा देवचुली नगरपालिकाले वर्चस्व कायम गरेको छ। बुधबार र बिहिबार कावासोतीमा सम्पन्न भएको जिल्लास्तरीय शिक्षक हाजिरी जवाफ प्रतियोगिता, विद्यार्थी वक्तृत्वकला प्रतियोगिता साथै शिक्षक तथा विद्यार्थी सामुहिक नृत्य प्रतियोगितामध्ये देवचुली नगरपालिकाले ३ वटा प्रतियोगिता जित्दै प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएको हो।
शिक्षक हाजिरीजवाफ प्रतियोगितामा देवचुली नगरपालिकाका तर्फबाट भीमसेन नमुना माविका प्रधानाध्यापक अग्निधर भुसाल, नेपाल नमुना माविका प्रधानाध्यापक शिवप्रसाद देवकोटा र जनज्योति माविका शिक्षक होमनाथ न्यौपानेको सहभागिता रहेको थियो। सो प्रतियोगितामा प्रथम हुँदै देवचुली नगरपालिका प्रदेशस्तरीय शिक्षक हाजिरी जवाफ प्रतियोगिताको लागि छनोट भएको देवचुली नगरपालिका शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले जानकारी दिनुभयो ।
यस्तै जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा नेपाल नमुना माविका विद्यार्थी रसिक गौतम प्रथम र जन ज्योति माविका विद्यार्थी हिमादेवी न्यौपाने (प्रकृति) द्वितीय भएका छन् । `हाम्रो शिक्षक,राम्रो शिक्षक,विद्यार्थीको नजरमा शिक्षक´ शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका गौतम प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट भएका हुन् ।
प्रतियोगिता अन्तरगत जिल्ला स्तरीय विद्यार्थी सामुहिक नृत्य प्रतियोगितामा देवचुली नगरपालिका नै प्रथम भएको हो । नृत्य प्रतियोगिताका लागि देवचुली नगरपालिकाबाट भीमसेन आदर्श मावि र नेपाल नमुना माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
नवलपुरबाट छनोट भएका बिजेताहरु फागुन २६ र २७ गते प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने देवचुली नगरपालिका शिक्षा शाखाले जनाएको छ।