कावासोती। बालबालिका हक, अधिकारलाई संरक्षण र संवर्द्धनको लागि स्थानीय सरकारको सबलीकरण गर्नुपर्नेमा नवलपुरका सरोकारवालाहरुले आवाज उठाएका छन् ।कावासोतीमा जस्टिज भेन्चर ईन्टरनेशलनको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपाल र बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको संयुक्त आयोजनामा भएको बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा बालसंरक्षण प्रणाली सृदुढीकरणमा स्थानीय तहको भुमिका विषयक कार्यक्रममा जिल्लाका ८ पालिकाका जनप्रतिनिधीहरुले सो कुरा बताएका हुन् ।
नेपाल सरकारले जारी गरेको संविधानको धारा ३९ मा बालबालिका सम्बन्धी अधिकारहरु मौलिक हकमा राखि विभिन्न नीतिहरु र नियमहरुको व्यवस्था गरी स्थानीय तहमा विभिन्न संयन्त्रको परिकल्पना गरेको तर आज पनि स्थानीय तहमा सो संयन्त्रहरु र समितिहरु गठन नहुनुले बालबालिका प्रति स्थानीय सरकार उत्तरदायी नरहेको हो की भन्ने प्रश्न रहेको बालअधिकारकर्मी एवं स्रोत व्यक्ति तारक धितालले सहजीकरण क्रममा भनाई राखेका थिए ।
बालबालिका सम्बन्धी ऐन २०७५ ले तोकेको बाल अधिकार समितिको गठन नहुनु, स्थानीय बाल कल्याण अधिकार नतोकिनु र बालसंरक्षण संयन्त्र स्थानीय तहमा नहुनुले बालबालिकाका विभिन्न सवालहरुको समाधानमा समस्या देखिएको उनले बताए ।नवलपुर जिल्लामा बालबालिकाका सवालहरु हेर्दा जन्मदर्ता र नागरिकता प्राप्तिमा राज्यको स्पष्ट नीति नहुनु ,पञ्जिकरण शाखा र प्रशासन कार्यालयबाट सो प्राप्ति गरिने समस्याको बारेमा सबै जनप्रतिनिधीहरुले आवाज उठाँउदै राज्यले नीतिहरु पुनरावलकोलन गरी सो प्राप्तीमा कार्यहरु गर्नुपर्ने पालिकाका जनप्रतिनिधीहरुले सामुहिक आवाज समेत उठाउनुभएको थियो ।
बालबालिकाको पहिलो अभिभावक भनेको नै स्थानीय सरकार रहेकोले बजेटको विनियोजन र नीतिनिर्माणको तर्जुमा देखि नै ध्यान दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले बताए । बालबालिका माथि हुने असमानता, विभेद, शोषण र हिंसा बालबालिकाको सर्वागिण विकास रोक्ने तत्व रहेकोले यस्ता विषय न्युनीकरणका लागि सबै पालिकाहरुले विशेष कार्यक्रम र योजना ल्याउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सहभागी गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोईरालाले नगरले बालबालिकालाई प्राथमिकतामा राखि शिक्षा, स्वास्थ्य र बालमैत्री अभियानको लागि कार्यहरु गरिरहेको र अझै जिम्मेवार रुपमा कार्यहरु गर्नुपर्ने दायित्व रहेकोले स्रोत व्यवस्थापन गरी कार्यकाल भित्र नगरलाई बालमैत्री गराउन प्रतिबद्ध रहेको बताइन् ।
जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष तिलोत्तम पौडेलेको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।त्यसै गरी नगरपालिकाका नगर उपप्रमुखहरु, गाँउपालिकाका उपाध्यक्षहरु, सामाजिक विकास समितिका संयोजकहरु, विद्यायन समितिका संयोजकहरु र महिला बालबालिका शाखाका प्रतिनिधीहरु गरी ४५ जनाको उपस्थिति रहेको संस्थाका महासचिव दिपक शर्माले जानकारी दिए।