आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा एडभान्स चुरापोते सीप विकास तालिम सम्पन्न

    प्रकाशित २०७९ माघ १०, मंगलबार (१ साल अघि)


देवचुली।देवचुलीमा संचालित एडभान्स चुरापोते सीप विकास तालिम सम्पन्न भएको छ ।देवचुली नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत माघ ५ गतेदेखि एडभान्स चुरापोते सीप विकास तालिम प्रदान गरिएको हो ।

देवचुलीमा मेड्पा कार्यक्रम अन्तर्गत सहभागी देवचुली लघु उद्यमी समुहको मागको आधारमा एडभान्स चुरापोते सीप विकास तालिम संचालन गरेको र महिलाहरुलाई सीप तथा ज्ञानमा वृद्धि गरि स्वरोजगार बनाउनुका साथै उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि तालिम प्रदान गरिएको देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले बताए ।


समापन कार्यक्रममा बोल्दै सहभागी देवचुली लघु उद्यमी समुहकी सचिव कुन्तीदेवी काफ्लेले नगरपालिकाले आयोजना गरेको कार्यक्रम आफुहरुका लागि निकै उपलब्धिमूलक रहेको र प्राप्त गरेको सीपको सही प्रयोग गर्ने बताइन् । काफ्लेका अनुसार सहभागीहरु तालिममा नियमित सहभागी भई सबैले आधुनिक चुरा पोते बनाउन सक्ने भएको र आफूहरुले बनाएका सामग्रीहरु बजारमा बिक्री गर्ने गरि योजना बनाएका छन् ।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले तालिममा सिकेका सीपहरुलाई उपयोग गरि स्वरोजगार बन्न सकिने हुँदा व्यावसायिक रुपमा काम गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो।उहाँले आगामी दिनमा सहभागीहरु निरन्तर रुपमा सक्रिय हुँदै काम गर्न र आवश्यक सीपका लागि नगरपालिकालाई माग गर्दा नगरको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। देवचुली-९ का देवचुली लघु उद्यमी समुहका महिलाहरुलाई चुरा पोते सीपका बारेमा तालिमको प्रशिक्षक सुजताकुमारी महतोले सहजीकरण गर्नु भएको थियो । समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


देवचुली नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटाको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटा, देवचुली नगरपालिकाका सामाजिक शाखा प्रमुख विमला लम्साल, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्मा, देवचुली वडा न ९ का वडा सदस्यहरु, मेड्पा उद्यम विकास सहजकर्ता जितबहादुर बिकलगायतको उपस्थिति रहेको थियो ।

Write your Comment