आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

बुटवल-नारायणगढ सडक खण्डको भेडाबारीमा कालोपत्रे परीक्षण

    प्रकाशित २०७९ पौष २९, शुक्रबार (१ साल अघि)


नारायण शर्मा,नवलपुर । निर्माणाधीन बुटवल-नारायणगढ सडक खण्डको भेडाबारीमा १ सय २० मिटर कालोपत्रे गरिएको छ । राजमार्ग ठेक्का लिएको ४२ महिनापछि चिनियाँ ठेकेदार कम्पनीले पहिलो पटक यो राजमार्गमा नारायणगढदेखि ११ किलोमिटर पश्चिम भेंडाबारीमा शुक्रबार पहिलो पटक कालोपत्रे सुरु भएको हो ।

शुक्रबार करिब १ सय २० मिटर अलकत्रा हालेर पहिलो चरणको कालोपत्रे गरिएको इन्जिनियर राकेश झाले बताए । यो कालोपत्रे गरिएको सडक १० मिटरभन्दा बढी फराकिलो छ ।

राजमार्गको मेन ट्रयाकअन्तर्गत पहिलो पटक परीक्षणका रुपमा कालोपत्र सुरु भएको हो । भेंडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र एक किलोमिटर पिच गरिने छ ।

धमाधम पिच गर्ने लक्ष्य रहे पनि सरकारले जिल्लाभरिका क्रसर उद्योग बन्द गरिएका कारण मसिनो गिट्टी अभावमा काम रोकिने झाले बताए । ‘देशभरिका क्रसर उद्योग बन्द छन्, हामीलाई चाहिने मसिनो गिट्टी र बालुवाको अभावमा काम रोकिने अवस्था छ ।’

क्रसर उद्योगबाट माल आउन सके आउँदो असारअगावै कम्तीमा १० किलोमिटर पक्की सडक फाइनल गरिने लक्ष्य रहेको उनले बताए । राजमार्गमा फिलिंगको काम भइरहँदा बन्द रहेका क्रसरका कारण काम अघि बढाउन अप्ठेरो परेको छ । ग्राभेल हालेर पुर्ने काम सकिए पनि माथिल्लो भाग सम्याउन क्रसरका विभिन्न साइजको गिट्टी आवश्यक पर्छ ।

बुटवल-नारायणगढ सडकको १ सय १४ किलोमिटर राजमार्ग फराकिलो पार्न चाइनिज ठेकेदार कम्पनीले ४२ महिनाअघि ठेक्का लिएको हो । पुस मसान्तसम्म राजमार्ग फराकिलो पार्ने काम २३ प्रतिशत मात्र काम पूरा भएको इन्जिनियर झाले बताए ।

Write your Comment