देवचुली। देवचुली नगरपालिका वडा नम्बर पाँचमा रहेको सकलादेवी माध्यमिक विद्यालयको ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार विद्यालय प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै विश्वकर्माले शिक्षा क्षेत्रको विकासका लागि राज्यले आवश्यक बजेट नीति र कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक भौतिक स्थितिमा निकै सुधार आएको बताउनुभयो । कतिपय सामुदायिक विद्यालयहरू निजी भन्दा पनि अब्बल बन्दै गएको बताउनुभयो । बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक , अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर पाँचका अध्यक्ष कृष्णप्रसाद सापकोटाले विद्यालयका लागि आवश्यक सहयोगका लागि वडा कार्यालय सदैव तयार रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक लक्ष्मी सिवाकोटीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रुद्र शर्मा,नगर शिक्षा अधिकृत नन्दलाल ढकाल,जनप्रतिनिधि,समाजसेवी व्यक्तित्वको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने चन्दादाता सम्मान , उत्कृष्ट शिक्षकहरुलाई सम्मान ,वर्षका उत्कृष्ट ६ जना अभिभावकलाई सम्मान तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी भट्टराईको अध्यक्षता भएको कार्यक्रमको विद्यालयका शिक्षक कृष्ण वाग्लेले संचालन गर्नुभएको थियो ।