आज:  २०८२ बैशाख १७, बुधबार | Wed, 30, Apr, 2025 Search
FLASH NEWS

वितृष्णा

    प्रकाशित २०८२ बैशाख १७, बुधबार (७ घण्टा अघि)


✍️भीष्मराज पौडेल

वितृष्णा  जगाउने तत्वहरुको सक्रिय  क्रीयाशिलता देखिन्छ । विभिन्न रुपमा प्रस्तुत हुने यी तत्वबाट अछुत रहन गाह्रो  छ। मुलतः यी तत्वहरुको विशेषता नै मानिसलाई खुसी र शान्त रहन नदिनुनै हो।

यो तत्वको लागि नेपालको हिमाल पहाड तराई जताततैको भुमी उर्वर बनेको छ। यस्को उत्पादकत्व दिन दुई गुणा रात चौ गुणाको हिसाबले बढेको छ। सर्वोच्च शिखर सगरमाथा र वितृष्णाको थुप्रो कुन ठूलो झ्याप्पै भन्न सकिने अवस्था छैन।

यो तत्व कताबाट कसरी निस्किन्छ त ? केही उदाहरण हेरौं ।

कहिले फलानो र ढिस्कानोको छोराछोरीको प्रगति सँगै  जोडिएर बा आमा र आफन्तीको  असन्तुष्टिको माध्यम बाट आईपुगेर तनाव दिन्छन् ।

एउटा कुशल विद्यार्थी भैइ दक्ष जनशक्ति बन्ने उच्च अभिलाषा बोकेर क्याम्पस छिरेको विद्यार्थीलाई दुख दिन परिक्षा स्थगितको सूचना  , तालाबन्दीको बिज्ञप्ती आदि जस्ता कागजमा छापिएर देखा पर्छ ।

पछिल्लो विकसित संचार प्रविधिसँग पनि यो छिट्टै नै अभ्यस्त भईसकेको छ। बढी प्रयोग हुने सामाजिक संजालको माध्यमबाट सक्रिय रुपमा देखा पर्छ। विशेषगरी  बेथितिका खबरहरुसँग जोडिएर आउँछ कहिलेकाहीँ अन्तर्वस्तुलाई न्याय नगरिएको शिर्षकसँगै देखिएर रिस उठ्ने बनाउँछ  ।

राजनीतिका अग्रगामी प्रतिगामी जुनसुकै गामीको पथिकको हर्कतबाट बाहिर निस्केर सताएको छ। जुनसुकै वादमा पनि मिसिएको छ।

आशा गरिएका राजनीतिक पात्रको गतिविधिबाट पनि यो तत्व निस्केर दु:ख दिने पो हो कि? मान्छे शंका गर्छन्  । कहिलेकाही सामाजिक संजालमा प्रतिक्रियाको दोहोरी देख्दा, अराजक अभिव्यक्ति देख्दा त्यता बाट पनि यो तत्व निस्किने हो कि भन्ने लाग्छ।

धुलाम्मे सडक बाट निस्केको धुलो सँगै हावामा मिसिएर प्राणवायुबाट पनि यो तत्व स्वासप्रणाली हुँदै मस्तिष्कमा पुग्ने तागत राख्छ।तागतकै कुरा गर्दा यो तत्व यति शक्तिशाली छ कि चिलगाडीमा युवाहरूलाई बेजोड गतिमा सात समुन्द्र पारी पुर्याएको छ कि उताबाट पनि  यस्तै तत्वले नधकलेदेखि  फर्किन गाह्रो  छ ।

ध्वनिमा पनि यस्को गज्जवको मेल भेटिन्छ । विशेषगरि यो नेताहरुको भासणबाटै प्रवाह हुन्छ। त्यही भासणमा आफ्नो विवेक बन्धकी राखेर कार्यकर्ताले हातमा फोरा उठ्ने गरि बजाएको तालीको आवजबाट  त यो तत्व प्रशस्तै निस्किन्छ ।

पैसाको माध्यमबाट यो तत्वले दु:ख दिईएको पाईन्छ । पैसा बढ्दैमा यस्को गति बढ्ने चाहिँ होईन।  ठाउँ अनुसार  कहिले समानुपातिक त कहिले  ब्युतक्रमानुपातमा रहेको पाईन्छ। तनखा बढ्दा यस्को घनत्व घटेर राहत मिल्छ  सँगसँगैको बढेको महंगीबाट ह्वात्तै घनत्व बढेर दु:ख दिन्छ ।

कहिलेकाहीँ यो तत्वको व्यापक प्रभावले गर्दा यो तत्वले ईन्धनकै गुण देखाएको हो कि भन्ने भान हुन्छ  त्यसो नहुँदो हो त  दिनहुँ छातिभित्र आगो नदन्किनुपर्ने हैन र?

वितृष्णा निम्त्याउन को जिम्मेवार छ त्? नेता कि जनता आफै ?

अक्षर सिक्दा खेरि नै राम्रो “म” भनेर पढेको भएर होला हामि आफुलाई बेठिक मान्न तयार हुँदैनौ । आफुलाई गलत देख्नुपनि किन परेको छ र भन्ने लाग्दो हो तर गलत देख्दै नदेख्ने लत बस्नु त विडम्वना हैन र ? आफु बेठिक भएको हेक्का कहिल्यै राखेन  , बिग्रिएको भत्किएको सबै ठेक्का अरुलाई दियो ।अरु मान्छेलाई दोष दिन नमिले समयलाई दिन्छौ ,परिस्थितिलाई दिन्छौ बिभिन्न तिथिमितिमा घटेका घटनाक्रमलाई  दिन्छौ ।

जनताले नेताले देश बिगारे भने पुग्यो ।सडक विस्तारका लागि दुई बित्ता जग्गा दिनुपरे चार हात उफ्रेर विरोध गर्यो । धारा खोलेर पानी खायो टुटी बन्द नगरी हिंड्यो यसरी हाम्लाई  अधिकारको मात्रै चासो  तर नागरिकको हिसाबले निभाउनुपर्ने कर्तव्यको बोध नभएको पो हो कि  ?

नेता चाहि व्यबस्था फेरियो वोल्न पाउने वातावरण बनाईयो केके नै भयो झैँ गर्छन  तर किसानले बोलेर पिठो बिकाउने वातावरण नभएको कसले बुझ्दिने ? अझै संक्रमणकालिन समय भएर भने जस्तो देशको प्रगति भएन भनेर उम्किनछन, सायद घर हुँदाहुँदै घरभाडा भत्ता लिनुपर्ने बाध्यता पनि संक्रमणकाल ले नै सृजना गरेको होला नि ?

जताततै वितृष्णा फैलिएर देश बस्न लायक भएन भनेको सुनिन्छ ।त्यस्तो नभई यो देश बस्न लायक नै छ  हामी चाहिं नालायक छौ  कि कसो  ?

Write your Comment