आज:  २०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025 Search
FLASH NEWS

देवचुलीका एक प्रधानाध्यापकको अभिभावकलाई खुला पत्र

    प्रकाशित २०८२ बैशाख १४, आईतबार (२१ घण्टा अघि)


आदरणीय अभिभावक ज्यूहरु नमस्कार,

हाल काठमाण्डौ केन्द्रित शिक्षक आन्दोलनको बारेमा यहाँहरु जानकार नै हुनुहुन्छ । यो आन्दोलन शिक्षकहरुको मात्र नभइ तपाई हामी सबैको आन्दोलन हो ।  यस आन्दोलनले विद्यार्थीको पठनपाठनमा क्षति भएको आभास अभिभावकज्यूहरुमा परेको हुन सक्छ । यहाँ हरुलाई धैर्य गर्न र हामी शिक्षकहरुले यसको क्षतिपूर्ति बर्षे बिदाबाट कुराको जानकारी पनि गराउन चाहन्छु । सामान्यतय बैशाखको १४ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरि १५ गतेबाट मात्र पठनपाठन शुरु हुने हो । आन्दोलन चरमोत्कर्षमा पुगिरहेको बेला आन्दोलन के का लागि हो भन्ने कुरा आम जनसमुदायले बुझ्न आवश्यक छ ।

  • राजा महेन्द्रको पालामा जारि भएको शिक्षा ऐनलाई अहिले सम्म टालटुल पारेर चलाइएको छ । सङ्घियता लागु भएपछि राज्यबाट नयाँ शिक्षा ऐन जारि भएको छैन ।
  • राज्यले आफुले गर्नु पर्ने काम शिक्षकहरुले छिटो गर्नलाई दबाव दिएका मात्र हुन ।
  • नयाँ शिक्षा ऐन जारी नहुँदा के के भएको बुझ्ने प्रयास गरौं है त ।
  • सम्बिधानमा माध्यामिक तहसम्म निशुल्क भनिएको छ तर अभिभावकहरुलाई फि तिर्न बाध्य पारिएको छ ।
  • बिद्यालयमा दुइ तह हुने कक्षा १ देखि ८ सम्म आधारभुत र कक्षा ९ देखि १२ माध्यमिक भनिएको छ । शिक्षकहरुको चारवटा तह छन् प्राथमिक, निम्न माध्यमिक, माध्यमिक, उच्च माध्यमिक ।
  • राज्यले सत्र थरिका शिक्षकहरुको नियुक्त गरेको छ जस्तै स्थायी, अस्थायी, राहत, अनुदान, पि सि एफ आदि के के हो के के ?
  • सयौ विद्यार्थी पढ्ने विद्यालयमा कार्यलय सहयोगी को दरबन्दीको व्यवस्था गरेको छैन । लेखापालको व्यवस्था गरेको छैन ।
  • बाल बिकास कक्षामा पढाउने शिक्षकहरुलाई अत्यन्तै न्युन बेतनमा खटाएको छ ।
  • कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको नाममा दैनिक रु १५ को व्यवस्था गरेको छ जब कि भान्सेको व्यवस्था गरेको छैन ।
  • कक्षा ११ र १२ लाई विश्वविद्यालयबाट हटाएर विद्यालय तहमा ल्याएर गाभ्ने काम भयो तर अहिले सम्म विषयगत शिक्षक दरबन्दिको व्यवस्था गरेको छैन ।
  • हाल कक्षा ९ र १० मा आठ बिषय पठनपाठन हुन्छ तर बिषयगत दरबन्दि र शिक्षकको व्यवस्था गर्न सकेको छैन ।
  • हालको शिक्षा ऐन अनुसार शिक्षण पेशा कसैको रोजाइको पेशा बन्न सकेको छैन जसले गर्दा गणित, बिज्ञान जस्ता बिषयको शिक्षक अहिले नै अभाव देखिन थालेको छ यदि यहि अवस्था रहे अबको ५ बर्षमा शिक्षकहरु २० बर्ष पहिला जस्तै विहारबाट  खेजेर ल्याउनु पर्ने दिन आउनेछ ।
  • शिक्षण पेशा आकर्षक नहुदा शिक्षा शास्त्र पढ्ने जनशक्ति एकदमै कम देखिन्छ । अहिले अधिकांस क्याम्पसको स्नातक तहमा गणित बिषय पढाइ भएको देखिदैन । देशका दुर्गम भेगमा शिक्षकहरुका लागि एघारौं पटक सम्म विज्ञापन गरेको सुन्न र देख्न पाइन्छ ।
  • खरिदारमा नियुक्त भएको एउटा निजामति कर्मचारी सुब्बा, अधिकृत भएर पेन्सनमा निस्कन्छ तर एउटा शिक्षक सबै योग्यता हुँदा पनि प्रा वि शिक्षक आजिवन प्रा वि शिक्षक नै भएर पेन्सनमा निस्कनु पर्छ ।
  • एउटा सिपाहिमा भर्ती भएको पुलिस निश्चित अबधि पछि हवल्दार, असइ, सइ हुदै इन्सपेक्टर बन्छ तर शिक्षकको जतिसुकै शैक्षिक योग्यता, अनुभव भए पनि उसको तहगत बढुवाको कुनै व्यवस्था छैन ।
  • सेनाको सैनिक अस्पताल छ । पुलिसको पुलिस अस्पताल छ । निजामतिको निजामति अस्पताल छ । तर शिक्षकहरुका लागि शिक्षक अस्पतालको व्यवस्था छैन ।
  • सेना, पुलिस र निजामतिमा आफ्ना सन्तानलाई डाक्टर इन्जिनियर पढाउनका लागि बिभिन्न छात्रवृतिको व्यवस्था छ । तर शिक्षकहरुलाई त्यो सुबिधा छैन ।

नेपाली समाजमा सामान्य मान्छे देखि बुद्धिजिवी, राजनितिज्ञ सबैले हेप्ने, होच्याउने तथा राज्य र आम मान्छेको जिम्वेवारी के हो भन्ने नबुझी तल्लो दर्जामा राखिएको यो पेशामा कमै मात्र मान्छेको रोजाइको पेशा बनेको छ ।

यी र यस्तै यस्तै अनगिन्ति व्यथिति देखेकाले मैले आफ्ना सन्तान र आफुले पढाएका विद्यार्थीहरुलाई अहिलेसम्म पनि शिक्षक बन्ने प्रेरणा दिएको छैन र अब आइन्दा दिने पनि छैन । सायद अहिले सम्म तपाईहरु पनि कसैले शिक्षण पेशामा जान कसैलाई उत्प्रेरित गर्नु भएको छैन  ।

स्थायी भएर शिक्षण पेशामा प्रवेश गरेको १० बर्ष भयो र अब १० बर्ष शिक्षण गरिनेछ । बाँकी रहेको दश बर्ष एकदमै कर्तव्यनिष्ठ भएर काम गरिने छ । कहिं कतै विद्यार्थी माथि अन्याय गरिने छैन । हामी शिक्षक माथि राज्यले जति नै बिभेद गरे पनि हामीले धर्म छोड्नु हुदैन र छोड्ने छैनौं । तसर्थ अब केहि दिन धैर्य गर्न आम अभिभावक ज्यूहरुलाई आग्रह गर्दछु ।

-नवराज घिमिरे

प्रधानाध्यापक

कालिका माध्यमिक विद्यालय देवचुली ९, नवलपुर

Write your Comment