काठमाडौं । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता” भन्ने नारासहित नयाँ शैक्षिक सत्र २०८२ सुरु भइसकेको छ। तर नेपाल शिक्षक महासङ्घको आह्वानमा चैत २० गतेदेखि काठमाडौंमा सुरु भएको आन्दोलनका कारण देशभर विद्यार्थी भर्ना अभियानमा प्रत्यक्ष असर परेको छ ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आन्दोलनका कारण शिक्षण–सिकाइ प्रक्रिया, कक्षा १२ को वार्षिक परीक्षा र नियमित पठनपाठनमा अवरोध पुगेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सिजपका महासचिव तिलोत्तम पौडेलद्वारा जारी विज्ञप्तिमा आन्दोलनका कारण धेरै विद्यालयमा भर्ना प्रक्रिया प्रारम्भ हुन नसकेको, कतिपय विद्यालयमा अघिल्लो वर्षको नतिजा समेत प्रकाशित हुन नसकेको र करिब पाँच लाख विद्यार्थी सहभागी हुने कक्षा १२ को वार्षिक परीक्षा समेत स्थगित भएको उल्लेख गरिएको छ।
“पठनपाठनमा लामो समयसम्म अवरोध हुँदा बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ,” महासचिव पौडेलले उल्लेख गर्नुभयो, “यो अवस्थाले विद्यार्थी विद्यालय छाड्ने प्रवृत्ति बढ्ने जोखिम पनि देखिएको छ।”सिजपले शिक्षक आन्दोलनलाई संवेदनशील ढंगले सम्बोधन गर्दै शिक्षा अधिकार सुनिश्चित गर्न, भर्ना अभियान सक्रिय बनाउने वातावरण तयार गर्न र बालमैत्री शिक्षा प्रणालीलाई पुनः सशक्त रूपमा अघि बढाउन सम्पूर्ण सरोकारवालासँग हार्दिक अपिल गरेको छ।
संगठनले नेपालको संविधानको धारा ३१ र बालबालिका सम्बन्धी ऐन, २०७५ मा प्रत्येक बालबालिकालाई आधारभूत तहसम्मको अनिवार्य र निःशुल्क शिक्षाको ग्यारेन्टी गरिएको उल्लेख गर्दै सो अधिकारलाई व्यवहारमा लागू गर्न जोड दिएको छ।त्यस्तै, विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका, २०६८ ले विद्यालयहरूलाई हिंसारहित, सुरक्षित र भेदभावरहित शैक्षिक वातावरणको ग्यारेन्टी गरेको सन्दर्भमा, सिजपले विद्यालयमा हुने कुनै पनि दलगत गतिविधि र अवरोध नगर्न आह्वान गरेको छ। साथै, वार्तामार्फत समाधान खोज्दै आम शैक्षिक हडताल फिर्ता लिन पनि आग्रह गरेको छ।