देवचुली । देवचुलीमा योग, व्यायाम, खानपान तथा रहनसहन र सकारात्मक सोचका लागि प्राकृतिक चिकित्सा सम्बन्धि सचेतनामुलक तालिम सम्पन्न भएको छ । रजहर सामुदायिक सिकाइ केन्द्र देवचुली १६ को आयोजना र देवचुली नगरपालिकाको सहयोगमा बुधबार सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा कार्यक्रम गरिएको हो ।
सामुदायिक सिकाइ केन्द्र रजहरका अध्यक्ष शम्भुबहादुर राउतको अध्यक्षता भएको तालिममा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति तालिम गरिएको हो ।
तालिमलाई डा. आजाद पुरीले सहजीकरण गर्नुभएको थियो । उहाँले योग, व्यायाम महत्वको बारेमा जानकारी गराउँदै मानव शरीरका लागि उपयुक्त खाद्य तालिकाको बारेमा जानकारी गराउनुभएको थियो । योग, व्यायाम, खानपान तथा रहनसहन र सकारात्मक सोचका लागि प्राकृतिक चिकित्सा आवश्यक रहेको बताउँदै समुदायमा यसको प्रचार आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले देवचुलीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयबाट धेरै नै बिरामीहरुलाई उपचार गरि सन्तुष्ट भएको आफुले पाएको बताउँदै वर्तमान अवस्थामा प्राकृतिक चिकित्सा उपयुक्त भएको बताउनुभयो ।