देवचुली । देवचुली नगरपालिका वडा नम्बर १७ मा चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा फागुन १० गतेदेखि फागुन २४ गतेसम्म वरचुली माविको खेलमैदान देवचुली १७ मा प्रतियोगिता संचालन गर्न लागिएको हो ।
चितवन, नवलपरासी पुर्व र पश्चिम गरि तीन जिल्लाका १५ टिमबीच प्रतियोगितामा प्रतिष्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपक चन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार देवचुली नगरपालिका भित्रका ६ टिम सहित गिरवारी, गैंडाकोट, रामपुर रड्स, दुम्किबास, कावासोती, पटिहानी, योङ्ग ब्वाइज र भैरव स्पोर्ट्स प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितालाई व्यवस्थित रुपमा संचालनका लागि उप समिति गठन गरेर काम गरिरहेको भट्टराईले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिनुभयो ।
देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे, नगर युवा तथा खेलकुद समितिका पदाधिकारीहरु, फारम खेलकुद विकास समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतियोगिताको आयोजनाको उद्देश्य सम्बन्धि प्रतियोगिता व्यवस्थापनका सह संयोजक सन्दिप पौडेलले र आर्थिक संकलनका बारेमा आर्थिक संकलन समितिका संयोजक सुजन सापकोटाले जानकारी गराउनुभएको थियो । पत्रकार सम्मेलनमा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईले पत्रकारले उठाएका सवालहरुको जवाफ दिनुभएको थियो । सो कार्यक्रमको सहजीकरण नगर युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो ।