आज:  २०८१ माघ २३, बुधबार | Wed, 05, Feb, 2025 Search
FLASH NEWS

विराट सामुदायिक वनद्वारा विपन्न परिवारलाई सहयोग तथा ज्येष्ठ नागरिकलाई सम्मान

    प्रकाशित २०८१ माघ २३, बुधबार (५ घण्टा अघि)


नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका–३, गिरुवारीमा रहेको विराट सामुदायिक वनले विपन्न परिवारलाई न्यानो कपडा वितरण तथा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरेको छ । बुधवार कार्यालय परिसरमा न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम गरिएको हो ।

विराट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम बहादुर कार्कीको अध्यक्षता तथा डिभिजन वन कार्यालय प्रमुख वसन्त केशव अधिकारीको प्रमुख आतिथ्यतामा न्यानो कपडा वितरण तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं डिभिजन वन कार्यालय प्रमुख वसन्त केशव अधिकारीले विपन्न परिवारलाई न्यानो कपडा वितरण तथा ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । उक्त क्रममा बोल्दै डिभिजन वन  कार्यालय प्रमुख अधिकारीले वन संरक्षणमा विगतमा पुर्याएको योगदानको फल स्वरूप सहयोग र सम्मान प्राप्त भएको बताउनुभयो । समुदायलाई वन प्राप्त भएपछि सबैको सक्रियताले संरक्षणमा सफलता मिलेको बताउँदै यसको फल स्वरूप अहिले सामुदायिक वनहरूले गरिबी निवारण ,सामाजिक विकास, पूर्वाधार विकास , विपन्न समुदायको उत्थानमा काम गर्न सकेको बताउनुभयो । सामुदायिक वनहरूले आफ्नो आम्दानीको रकमबाट समाजमा विभिन्न खालका कार्यहरू गर्दै आएको उहाँले बताउनुभयो ।

उहाँले वनको कानुन केही जटिल समेत रहेको बताउँदै नियम कानुनको पालना गर्दै राम्रो काम गर्नतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले वातावरणिय परिवर्तनका असरहरू न्यूनीकरणका लागि समेत वन जोगाउन आवश्यक भएको बताउनुभयो । वन जोगाउनु भनेको विश्व समुदायलाई वातावरणका कारण पर्ने असर न्यूनीकरणमा सहयोग पुर्‍याउनु रहेको समेत डिभिजन वन कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

विराट सामुदायिक वनका अध्यक्ष प्रेम बहादुर कार्कीले वनको वार्षिक कार्य योजना अनुसार गरिएको बताउनुभयो । वार्षिक कार्य योजनामा  विपन्न परिवारलाई सहयोग र ज्येष्ठ नागरिकको सम्मान गर्ने भनिएकाले वनको सामाजिक उत्तरदायित्व समेत बुझेर यस खालको काम गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । वनले मानव वन्यजन्तु द्धन्द न्यूनीकरण गर्न र वन क्षेत्रमा जथाभाबी मानिसको प्रवेश रोक्न कालागि मेस जाली लगाउने काम समेत गरेको अध्यक्ष कार्कीले बताउनुभयो।

विराट सामुदायिक वन उपभोक्ता समूह २५ जना विपन्न परिवारलाई व्लाङ्केट, डसना, सिरानी, तन्ना लगायतका न्यानो कपडा वितरण गरेको तथा ८२ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान सहित चेवनप्रास वितरण गरिएको समूहका सचिव सचिव ईश्वरी प्रसाद रेग्मीले बताउनुभयो ।

न्यानो कपडा वितरण तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहयोग प्राप्त गर्ने र सम्मान प्राप्त गर्नेले खुसी व्यक्त गरेका थिए । वन समूहले गरेको सहयोग र सम्मानका लागि उनीहरूले धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा हुप्सेकोट ३ का वडा अध्यक्ष विष्णु राना, सब डिभिजन वन कार्यालयका प्रमुख सूर्य सिं गुरुङ, वडा सदस्य रेवती सारु, स्थानीय वन महासंघ हुप्सेकोटका अध्यक्ष गुरु प्रसाद खनाल, लेखा समिति संयोजक गुरु प्रसाद सुवेदी, सल्लाहाकार समिति संयोजक तारा बहादुर कार्की, अनुगमन समिति संयोजक शोभाकान्त लामिछाने, न्यायिक उप समिति सदस्य टेकनाथ सिग्देल लगायतले कार्यक्रम सफलताको शुभकामना सहित आफ्नो भनाई राखेको थिए । उक्त क्रममा बोल्ने वक्ताहरूले वन जोगाउन सफल हुँदा समाजको विकासमा सहयोग पुगेको बताएका थिए । वन संरक्षण गरेकै कारण अहिले भएको आम्दानीबाट विभिन्न खालका सामाजिक कार्यहरू ,विकासका कार्यहरू गर्न सफल भएको वक्ताहरूले बताएका थिए ।

विराट सामुदायिक वन उपभोक्ता समूहले शैक्षिक क्षेत्र, सिप विकास, दीर्घ रोग लागेकालाई सहयोग, सुत्केरी पोषण कार्यक्रमबाट सहयोग, संस्कृति संरक्षण, आरन प्रवर्द्धन लगाएका आर्थिक ,सामाजिक तथा पूर्वाधार विकासमा काम गरिरहेको समूहका कोषाध्यक्ष तेजमाया पाण्डेले बताउनुभयो ।

विपन्न परिवारलाई न्यानो कपडा वितरण तथा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम स्वागत भनाई राख्ने क्रममा बोल्दै समूहका उपाध्यक्ष उषा खाँण ठकुरीले समूह सधैँ आफ्नो कार्य योजना अनुसार सामाजिक कार्यमा अग्रसर रहिरहेको बताउनुभयो । गरी तथा विपन्न परिवारको आर्थिक विकास सहित उनीहरूलाई सहयोग गर्ने लगायतका विभिन्न खालका कामहरू आफूहरूले गरिरहेको बताउनुभयो ।

वन समूहका विभिन्न सरोकारवाला, वन समूहका सदस्य लगायत विभिन्न व्यक्तिहरूको उपस्थितिमा भएको विपन्न परिवारलाई न्यानो कपडा वितरण तथा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमको सञ्चालन सचिव ईश्वरी प्रसाद रेग्मीले गर्नुभएको थियो ।

Write your Comment