आज:  २०८१ माघ २२, मंगलबार | Tue, 04, Feb, 2025 Search
FLASH NEWS

देवचुलीमा ट्रमा सेन्टर निर्माणका लागि बाटो खुल्यो

    प्रकाशित २०८१ माघ २१, सोमबार (१५ घण्टा अघि)


देवचुली । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो खुलेको छ । जिल्लाको देवचुली नगरपालिका–१७, मा ट्रमा सेन्टर निर्माण गर्ने विषय लामो समयदेखि चलेको भए पनि कामले गति लिन सकेको थिएन । ट्रमा सेन्टर निर्माण स्थलमा रहेका रुख हटाउने गरी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो ।

आइतबार मात्रै वन तथा भू संरक्षण विभाग र देवचुली नगरपालिकाबिच ट्रमा सेन्टर रहेको स्थानका रुख कटानको सम्झौता भएको छ । दुई हेक्टर जग्गा ट्रमा सेन्टरका लागि छुट्टाइएको थियो । जग्गा छुट्टाइएको क्षेत्रमा ६ सय ४६ वटा रुख कटान गर्ने गरी सम्झौता भएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

गत साउन १४ गते बसेको मन्त्रीपरिषद् बैठकले ट्रमा सेन्टरका लागि देवचुली नगरपालिका – १७, झरही खोला नजिक राष्ट्रिय वनको २ हेक्टर जग्गा उपलब्ध गराउने र उक्त क्षेत्रमा पर्ने रुख कटानको स्वीकृत दिने निर्णय गरेको थियो । जग्गा प्राप्तिका लागि देवचुली नगरपालिकाले रु. एक करोड ६० लाख ७ हजार सट्टा भर्ना स्वरूप वन तथा भू –संरक्षण विभागमा बुझाएर प्रक्रिया अगाडि बढाएको थियो । सम्पूर्ण प्रक्रिया पुगेसँगै आइतबार भएको सम्झौतासँगै ट्रमा सेन्टर निर्माणको बाटो खुलेको हो ।

सम्झौता पत्रमा देवचुली नगरपालिकाका तर्फबाट नगर प्रमुख हरिप्रसाद न्यौपाने र देवचुली –१७, का वडा अध्यक्ष गणेश शर्मा चालिसेले तथा वन तथा भू संरक्षण विभागका व्यवस्थापन महाशाखाका उपमहा निर्देशक धनञ्जय लामिछाने र उपसचिव रामवालक प्रसाद यादवले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा रुख कटान गर्ने, त्यसको व्यवस्थापन गर्ने र ट्रमा सेन्टरको काम अघि बढाउने विषयहरू उल्लेख भएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

ट्रमा सेन्टर निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवन मार्फत ठेक्का प्रक्रिया अगाडि बढ्ने देवचुली नगरपालिकाका नगर प्रमुख न्यौपानेले बताउनुभयो । बहु वर्षे योजना अन्तरगत यस वर्ष रु. १० करोड रुपैयाँको स्रोत सुनिश्चित भएको उहाँको भनाई छ । रुख कटानको काम अब तत्काल अघि बढ्ने र ट्रमा सेन्टर निर्माणले गति लिने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

देवचुलीका लागि बहुप्रतिक्षित योजनाका रूपमा रहेको ट्रमा सेन्टर निर्माणको काम अब थालनी हुने हुँदा यो सम्पूर्ण नगरवासीका लागि खुसीको विषय भएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । पूर्व पश्चिम राजमार्गसँगै ट्रमा सेन्टर बन्दा भोलीका दिनमा यहाँ बिरामीहरूले सहज रूपमा समयमा उपचार पाउने हुँदा देवचुली मात्र नभई सबैका लागि यो योजना महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । ‘ निर्माण गर्न लागिएको ट्रमा सेन्टर पूर्वपश्चिम राजमार्ग सँगै छ, यसको निर्माणले देवचुली मात्र नभएर सडक दुर्घटनामा पर्ने बिरामीलाई समयमै सहज रूपमा उपचार गरी नागरिकको जिउ ज्यान बचाउन सहयोग पुग्छ, यस कारण यो योजनाका सबैका लागि महत्त्वपूर्ण छ’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।

Write your Comment