आज:  २०८१ माघ १३, आईतबार | Sun, 26, Jan, 2025 Search
FLASH NEWS

दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता: शुक्रबार देवचुली ७ र देवचुली १२ विजयी

    प्रकाशित २०८१ माघ ११, शुक्रबार (१ दिन अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा शुक्रबार देवचुली ७ र देवचुली १२ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।

प्रतियोगितामा शुक्रबार देवचुली ७ का विरुद्ध देवचुली १० बिचको पहिलो खेलमा देवचुली ७ ले ८ विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १० ले सोनु रेग्मीको ७० रन र जगु क्षेत्रीको २३ रनको मदतले १९.५ ओभरमा १० विकेट गुमाउँदै १५४ रन बनाएको थियो । बलिङ तर्फ देवचुली ७ का अमन सेन्चुरी र एरिक क्षेत्रीले २/२ विकेट लिएका थिए ।

१५५ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले ७ ले १८ ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाउँदै ८ विकेटले जितेको हो । देवचुली ७ का सुरज काफ्लेले ६४ रन र अशोक भट्टराईले ३८ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १० का प्रकाश काफ्लेले १ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली ७ का सुरज काफ्ले म्यान अफ दि म्याच भएका थिए।

त्यसै गरि प्रतियोगिता अन्तरगत शुक्रबार देवचुली ५ का विरुद्ध देवचुली १२ बीचको खेलमा देवचुली १२ ले १३७ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १२ ले गोविन्द बिकको १०१ रन र विलोम थापाको ३८ रनको मदतले २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बलिङ्तर्फ देवचुली ५ का कृष्णहरि सापकोटाले ३ विकेट र शुभम पौडेलले १ विकेट लिएका थिए ।

१९७ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली ५ ले ११.२ ओभरमा सबै विकेट गुमाई ५७ रन बनाउँदै जित निकालेको थियो । देवचुली ५ का सुरज आचार्यले २३ रन र प्रदिप तिवारीले ११ रन बनाएका थिए । बलिङतर्फ देवचुली १२ का विलोम थापाले ६ विकेट र स्वागत पाण्डेले २ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १२ का विलोम थापा म्यान अफ दि म्याच भएका थिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ६ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत शनिबार देवचुली ३ का विरुद्ध देवचुली १३ बिच पहिलो खेल र देवचुली ७ का विरुद्ध देवचुली ९ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

Write your Comment