आज:  २०८१ माघ १०, बिहिबार | Thu, 23, Jan, 2025 Search
FLASH NEWS

चितवनको भण्डारा खानेपानीद्वारा देवचुलीको प्रगतिनगर खानेपानीको अवलोकन तथा अन्तरक्रिया

    प्रकाशित २०८१ माघ १०, बिहिबार (११ घण्टा अघि)


देवचुली । चितवनको भण्डारा दोस्रो खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले देवचुलीमा रहेको नेपालकै उत्कृष्ट खानेपानी संस्था प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अवलोकन गरेको छ । राप्ती नगरपालिका वडा नम्बर ४,५ र ६ का वडा अध्यक्ष, वडा सदस्यसहित आएको खानेपानीको टिमले प्रगतिनगर खानेपानी संस्थाको अवलोकन, देवचुली नगरपालिका र प्रगतिनगर खानेपानी संस्थाबीचको सम्बन्ध साथै पानी वितरण श्रोतको सुरक्षा र आयोजनाको समग्र पक्षको बारेमा अवलोकन र अन्तरक्रिया गरिएको हो ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले अवलोकनका लागि आउनुभएको सबैलाई स्वागत गर्दै प्रगतिनगर खानेपानीको समग्र अवस्था, प्रगति र समुदायमा गरेका गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । खानेपानी संस्थाका लागि संघ, प्रदेश तथा स्थानीय सरकारद्वारा भएका सहयोगको बारेमा जानकारी गराउँदै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्दै आइरहेको उहाँले जानकारी गराउनुभएको थियो ।

भण्डारा दोस्रो खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चन्द्रबहादुर लामाले भण्डारा खानेपानीको बारेमा जानकारी गराउँदै प्रगतिनगर खानेपानीबाट धेरै कुरा सिकेको बताउनुभयो । राप्ती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिताराम वलले समुदायमा स्वच्छ पानीको प्रयोग सम्बन्धि सचेतना आवश्यक रहेको र प्रगतिनगर खानेपानीले गरेको गतिविधिले धेरै काम गर्न आवश्यक रहेको महसुस भएको बताउनुभयो । राप्ती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जल्लुराम महतोले विकास निर्माण सँगसँगै खानेपानी पाइपलाइन विस्तारको काम सुरु गरिरहेको भण्डारा खानेपानीले वडा वडामा सहज खानेपानी पुर्‍याउने अभियान सुरु गर्न अवलोकन भ्रमणले सहयोग पुग्ने बताउनुभयो । छ्लफल कार्यक्रममा राप्ती नगरपालिकाका कार्यपालिका सदस्य गोमादेवी धरेल, जिल्ला समन्वय समिति चितवनका सदस्य गुनु बिक लगायतले राप्ती नगरपालिकामा खानेपानी सुधारमा अन्तरक्रिया कोसेढुंगा हुने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता तथा देवचुली ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्ले, देवचुली १० का वडा अध्यक्ष रेप्ती कुमार घर्ती मगर, देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल, देवचुली १४ का वडा अध्यक्ष गोपाल थापा, देवचुली १५ का वडा अध्यक्ष सुरेश रानाभाट, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष, सचिव, सदस्य लगायत कर्मचारीको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव इन्द्रमणी भुसालले गर्नुभएको थियो ।

Write your Comment