आज:  २०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025 Search
FLASH NEWS

दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता: बुधबार देवचुली १० र देवचुली १५ विजयी

    प्रकाशित २०८१ माघ ९, बुधबार (७ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा बुधबार देवचुली १० र देवचुली १५ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।

प्रतियोगितामा बुधबार देवचुली ९ का विरुद्ध देवचुली १० बिचको पहिलो खेलमा देवचुली १० ले १०३ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १० ले सगुन सापकोटाको ९६ रन र किरण शर्माको २८ रनको मदतले २० ओभरमा ९ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । बलिङ तर्फ देवचुली ९ का अनुज सारुले ३ विकेट र दिलकुमार मानन्धरले २ विकेट लिएका थिए ।

१९९ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले ९ ले २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाउँदै १०३ रनले पराजित भएको हो । देवचुली ९ का सुवास केसीले २० रन र निर्मल सुनारले १४ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १० का गगन भट्टराईले ५ विकेट र प्रकाश काफ्लेले १ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १० का सगुन सापकोटा म्यान अफ दि म्याच भएका थिए।

त्यसै गरि प्रतियोगिता अन्तरगत बुधबार देवचुली ७ का विरुद्ध देवचुली १५ बीचको खेलमा देवचुली १५ ले ८९ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १५ ले सन्देश भुसालको ४९ रन र नरेश रानाभाटको ३६ रनको मदतले २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । बलिङ्तर्फ देवचुली ७ का कमल अधिकारी र एरिक क्षेत्रीले २/२ विकेट लिएका थिए ।

१६८ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली ७ ले १७.३ ओभरमा सवै विकेट गुमाई ७६ रन मात्र बनाएको थियो । देवचुली ७ का ओमन सेन्चुरीले ३७ रन र अशोक भट्टराईले १३ रन बनाएका थिए । बलिङतर्फ देवचुली १५ का आदर्श भट्टराईले ३ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १५ का आदर्श सापकोटा म्यान अफ दि म्याच भएका थिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ६ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत बिहीबार देवचुली ३ का विरुद्ध देवचुली ११ बिच पहिलो खेल र देवचुली १३ का विरुद्ध देवचुली १६ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

Write your Comment