आज:  २०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025 Search
FLASH NEWS

अन्तर विद्यालय फुटबल: सेन्ट जोसेफ, सरस्वती मावि हसौरा र समता शिक्षा निकेटन क्वाटर फाइनल प्रवेश

    प्रकाशित २०८१ माघ ७, सोमबार (१ दिन अघि)


देवचुली । कावासोती १२ मा संचालित कावासोती नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएका खेलबाट सेन्ट जोसेफ, सरस्वती मावि हसौरा र समता शिक्षा निकेटन विजयी भएका छन् । कावासोती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा कावासोती १२ को राजमन्दिर खेल मैदानमा संचालित प्रतियोगिता अन्तरगत सोमबार भएको चण्डेश्वरी माविका विरुद्ध सेन्ट जोसेफबीच भएको खेलमा सेन्ट जोसेफ विजयी भएको हो ।

सेन्ट जोसेफले चण्डेश्वरीलाई १-० गोल अन्तरले हराउँदै क्वाटर फाइनल प्रवेश गरेको हो । पहिलो खेलमा सेन्ट जोसेफका सौरव कुँवर म्यान अफ दि म्याच भएका थिए । त्यसै गरि सरस्वती मावि गोछ्डाका विरुद्ध सरस्वती नमूना मावि हसौराबीचको खेलमा हसौराले गोछ्डालाई २-० गोल अन्तरले हराउँदै क्वाटर फाइनल प्रवेश गरेको हो । दोस्रो खेलमा सरस्वती मावि हसौराका समिल तामाङ म्यान अफ दि म्याच भएका थिए । सोमबार नै भएको मध्यविन्दु स्काइलाइनका विरुद्ध समता शिक्षा निकेतनबीचको खेलमा समता निकेतनले मध्यविन्दु स्काइलाइनलाई ७-० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । तेस्रो खेलमा समता शिक्षा निकेटनका रोजिन बगदास म्यान अफ दि म्याच भएका थिए ।

छात्र तर्फ १६ विद्यालय र छात्रा तर्फ ४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनलबाट बाहिरिने टिमले नगद ५/५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत मंगलबार ज्ञानोदय माविका विरुद्ध नवलपुर एकेडेमीबीच पहिलो खेल, जनता मावि विष्णुनगरका विरुद्ध सेन्ट जोसेफबीच दोस्रो खेल र शान्ति निकुञ्ज माविका विरुद्ध सहिद स्मृति माध्यमिक बीच तेस्रो खेल हुने कावासोती नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो ।

Write your Comment